Main

विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’ सार्वजनिक

१७ चैत, काठमाडौं । कवि विप्लव प्रतीकको हाइकु संग्रह शाडेनफ्रोएडा शनिबार सार्वजनिक भएको छ ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले उक्त कृति आम पाठकहरुमाझ सार्वजनिक भएको घोषणा गरेका थिए ।

कविता संग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरु छाड्दै आएका विप्लवले सुक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु संग्रह पहिलोपटक पाठकहरु माझ प्रस्तुत गरेका हुन् ।

‘सन् २००६ तिर म यो विधासँग नजिकिएको हुँ’, समारोहमा विप्लवले भने, ‘कविता सुनाउन भक्तपुर गएका बखत ख्याल ख्यालमै लेखेको एउटा हाइकुले मलाइ यहाँ सम्मको यात्रा गराएको हो ।’

तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिब्यक्ति पस्कन सिकाउने लेखकले बताए ।

यस पुस्तकका अक्षरहरु कम्प्युटरका लिपि नभइ स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित गरिएको छ ।  ‘हाइकुको किताबले बजारलाई खासै आकर्षित नगर्ला भनेर मैले निजी संग्रहमै सीमित राखेको थिएँ’, विप्लवले थपे, ‘तर, बजारलाई हेरेर नभइ कृतिको आधारमा प्रकाशन गर्ने तर्कका साथ पब्लिकेशन्स नेपालयका सम्पादक तथा प्रकाशकहरुले तत्परता देखाएकोमा म आभार प्रकट गर्दछु ।’

पुस्तक भित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकुहरु समेटिएका छन् .

‘हामी लेखनका अन्य विधाहरुसँगै काव्य विधालाई पनि फैलाउन प्रयत्नशील छौं’, पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘पहिलोपटक हाइकुहरुको संग्रह प्रकाशन गर्नपाउँदा खुशी लागेको छ ।’

पुस्तकको चार सय ९५ रुपैयाँ मूल्य राखिएको यो किताबलाई नेपा~लयले भौतिक पुस्तक सँगसँगै ई-बुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button