Main

पोखरामा १० देशका आधुनिक कृषि यन्त्र र उपकरणबारे सिक्न र जान्न पाइने

१७ पुस, पोखरा । गण्डकी प्रदेशमै पहिलो पटक कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । पुस २० देखि २२ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो ।

नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरकरण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्न सहयोग गर्ने उद्देश्यले पोखरामा नेपाल कृषि मेसिनरी व्यवसायी संघ र विभिन्न सरकारी कार्यालयको आयोजनामा प्रदर्शनी हुन लागेको संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।

प्रदर्शनीसँग आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, विउविजन, आधुनिक सिँचाइलगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका कम्पनीहरुको सहभागिता हुने छ ।

यसअघि अन्य प्रदेशमा ६ ठाउँमा भइरहेको प्रदर्शनी गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक हुन लागेको हो । विभिन्न १० देशका आधुनिक कृषि यन्त्र तथा उपकरण प्रदर्शनीमा राखिने छ ।

‘किसानले कृषि मेसिन, उपकरणबारे हेर्न, सिक्न, बुझ्न पाउने छन् । तिनको प्रयोगबारे त्यहाँ सिकाइने छ । डेमो गरेरै देखाइने छ,’ संघका अध्यक्ष शर्माले भने, ‘आधुनिक कृषि प्रविधि र यससँग सम्बन्धित काम गरिरहेका व्यवसायीबीचको यो गतिलो पुल हो ।’

प्रदेश सरकारले पनि यान्त्रिकरणमा जोड दिइरहेको र पहिलेका आधुनिक मेसिन पनि प्रयोगविहीन भइरहेको तर अब पनि त्यसको विकल्प नभएको यस क्षेत्रका कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख वासुदेव रेग्मीले बताए । ‘संसारमा धेरै कृषि यन्त्र र उपकरण आइसके हामी भने अझै हाते ट्याक्टरै बाँडिरहेका छौं । त्यो पवि विग्रिएपछि बनाउनै नसकेर थन्किएका छन्,’ रेग्मीले भने, ‘जुन पालिकामार्फत त्यो वितरण भएको छ, त्यो मर्मत गर्ने जिम्मेजारी वा तालिम पनि सोही पालिकाले चलाउनुपर्‍यो ।’

प्रदर्शनीमा एउटै थलोमा आधुनिक प्रविधि, कृषि औजार, उपकरण तथा यन्त्रहरु र त्यसका सेवाबारे किसानलाई जानकारी गराइने छ । प्रदर्शनीमा किसानलाई विभिन्न प्रविधि, यन्त्र र उपकरणको प्रयोगबारे सिकाइनेसमेत आयोजकले जानकारी दिएको छ ।

अहिले नेपालको तराइ क्षेत्रमा ८० प्रतिशतको हाराहारीमा यान्त्रिक प्रविधि र उपकरणमार्फत कृषि तथा पशुपालन भइरहेको भए पनि पहाडी क्षेत्रमा भने जम्मा १० प्रतिशतको हाराहारीमा मात्र छ । पहाडी क्षेत्रमा सबैभन्दा हाते ट्याक्टर, घाँस काट्ने मेसिन, दूध दुहुने मेसिन लगायत सबैभन्दा बढी प्रयोगमा छन् ।

त्यही पनि बिग्रिने समस्याले किसान आजित हुने गरेकोमा यसको मर्मतबारे पनि प्रदर्शनीमा सिकाइने आयोजकको भनाइ छ । प्रदर्शनीमा यस्ता मेसिन बिगिँ्रदा कसरी बनाउने भन्नेसमेत सिकाउने तयारी भइरहेको पोखरा महानगरपालिका कृषि तथा महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । प्रदर्शनी गर्न करिब ४५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button