सपना विपना
शौर्य मण्डलको अर्को एउटा ग्रहमा पशुहरुको साम्राज्य थियो ।
पशुहरु मांसहारी थिए । केही पशुहरु भने मांस भोजनप्रति रुचि नभएका कारण शाकाहारी बनेका थिए ।
पशुहरुको साम्राज्यमा पशुहरुले आफ्नो काममा सहयोगका लागि मान्छेहरु पनि पालेका थिए । वलिष्ठ भएसम्म पशुहरुले लगाए अह्राएको काम गर्नु र शरीरले काम गर्न नसक्ने भएपछि पशुको आहारा बन्नु मान्छेको कर्तव्य थियो ।
मान्छेहरु घाँस खान्थे, तैपनि उनीहरु हृष्टपुष्ट थिए । हृष्टपुष्ट मान्छेलाई पशुहरुले मूलतः खेतीपातीको काममा प्रयोग गर्दथे । मान्छेले पूर्णरुपमा पशुको निर्देशनमा चल्नुपर्थ्यो ।
केही मान्छेहरुले भने यसरी पशुले आफूमाथि गरेको शोषण दमनलाई अन्याय र अत्याचार सोचिरहेका थिए ।
एकदिन केही मान्छहरुले पशु विरुद्ध विद्रोह गर्ने निर्णय गरे । उनीहरुले आफ्नो नेता चुने । विद्रोहीको नेताले विद्रोहको आह्वान गर्दै भन्यो‐ ‘ब्रह्माण्ड सबै प्राणीको साझा हो । यहाँ सबैको समान अस्तित्व छ । तर पशुहरुले हामीहरुलाई दास मात्र होइन, भोक लाग्दा आहारा नै बनाएका छन् । पशुहरुले गरेको अन्यायको हामीेले विरोध गर्नुपर्छ । हाम्रा अधिकारका लागि हामी एकजुट हुनुपर्छ ।’
विद्रोहीको नेता पशुहरुको आँखाको पहिलो तारो बन्यो । उसलाई पशुहरुले पक्रे र तुरुन्तै आफ्नो आहारा बनाउने निर्णय गरे । रिसको झोकमा अति क्रुरतापूर्वक पशुहरुले मान्छेको नेतालाई मृत्युदण्ड दिए । मृत्युदण्डका बेलाको यातना खप्न नसकेर मान्छेको नेता जोडले करायो ।
****
झल्यास्स ब्युँझदा उसले आफूलाई आफ्नै घरको माथिल्लो तलाको बेडमा पायो ।
‘ए ! खसी नमार । यो दशैँमा हामी मासु नखाउँ, शाकाहारी दशैँ मनाउँ । हिजो मैले किनेर ल्याएको खसीलाई बन्धनमुक्त गरिदेओे । उसको पनि बाँच्ने अधिकार छ । उसले बाँच्न पाउनुपर्छ । बाँच्ने अधिकारको हामी हनन नगरौँ ।’ ऊ कराउँदै माथ्लो तलाबाट तलतिर झर्यो ।
तल उसका छोराहरु बिहानैदेखि खसी काटेर टुक्राटुक्रा पार्दै भाँडामा हालिरहेका थिए । मानौँ त्यहाँ खसी काट्ने उत्सव चल्दै थियो ।
‘ए बुढा ! तिमी बहुलाउन त बहुलाएनौ ? बहुलाउनी भए पनि दशैँको बेलामा बहुलाउने होइन है,’ उसकी श्रीमतीले श्रीमान्लाई व्यङ्गातत्मक शैलीमा भनी ।
‘त्यही त भन्या नि । खसी भुँडीमा पुग्ने बेला भैसक्यो, खसी छोडी दे भन्दै हाम्रा बा पनि एकाबिहानै जोक गर्छन् ।’ अचानोमा तेर्सिएको खसीको फिलामाथि खुकुरीले हान्दै छोराले भन्यो ।
खसी उत्सव हेर्न वरिपरि जम्मा भएका सबै गलल्ल हाँसे ।
सपना, विपना । भ्रम, सत्य । के हो यो सब ?
‘तर कुन सपना, कुन विपना । कुन भ्रम कुन सत्य ?’ ऊ आफैँ रणभुल्लमा पर्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।