सेलिब्रेटी युट्युवर मिस्टर बिस्टद्वारा नेपाली अस्पताल मर्मत, १६ हजारले लाभ लिनसक्ने

काठमाडौं । विश्वभर युट्युवमा सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युवर मिस्टर बिस्टले एक नेपाली अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् ।
डिसेम्बरमा उनको टीम नेपाल आइपुगेको थियो । बिस्टले नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो टीमले सिन्धुलीको फिक्कल गाउँपालिकाको मर्मत गरेको बारे जानकारी दिएका छन् ।
भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको छ । निर्माणाधिन अस्पताल र स्वास्थ्यकर्मीलाई पनि देखाइएको छ ।
बिस्टको समूह र ‘गिभ पावर’ नामक सामाजिक संस्थाले उक्त अस्पतालको मर्मत कार्य अघि बढाएको पनि देखिन्छ । बायोमेडिकल इन्जिनियर सञ्जबहादुर सिंह ठकुरीसँग मिलेर उनीहरुले मर्मतको काम अघि बढाएको देखाइएको छ ।
उक्त अस्पतालमा प्रसुति सेवा पनि उपलब्ध हुने उल्लेख छ । ड्यारेन मार्गोलिस नामक बिस्टको टीमका एक सदस्यले नेपालको हिमाली क्षेत्रमा पाइने लोकल चियाको प्रशंसा गरेका छन् ।
त्यसपछि मिस्टर बिस्टको टीमले सोलार प्यानल बिछ्याउँछ । १० थान ‘बेबी वार्मर डिभाइस’ पनि उपलब्ध गराइएको छ । बेवारिसे अस्पताललाई सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गरेको दृश्य भिडियोमा छ ।
यो अस्पतालबाट १६ हजार मानिस लाभान्वित हुने भनिएको छ । भिडियोमा गाउँको अस्पतालमा गाउँले भेला भएर पहिलोपटक बत्ती बलेको दृश्य पनि देखाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।