राप्रपा अध्यक्षको चेतावनी : सरकारले अवरोध गर्न खोजे प्रतिवाद गर्छौं

२५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्सि मंगलबार हुने आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ । तर सरकारले निषेधित क्षेत्र घोषणा गरेर अवरोध गर्न खोजे प्रतिवाद गर्ने उसको चेतावनी छ ।
४० बुँदे माग अगाडि सारेको राप्रपाले पर्सि २७ गते काठमाडाैंमा प्रदर्शन राखेको छ । प्रदर्शनको पूर्व सन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष लिङ्देनले नयाँ सम्झौतामा जान सरकार र दलहरुलाई दबाब दिनु प्रदर्शनको उद्देश्य भएको बताए ।
‘सरकार र राजनीतिक नेतृत्वलाई के सन्देश दिन चाहन्छौं भने तपाईहरुले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता व्यवस्था भित्र्याउने क्रममा सुविचारका साथ ल्याएको होला’ पार्टीका शीर्ष नेताहरुका साथ उपस्थित भएका लिङ्देनले भने, ‘तर हाम्रो डेढ दशकको अभ्यासले यो व्यवस्थाले काम गर्दैन भन्ने प्रमाणित गर्याे । र यो व्यवस्था जति पालेर जान्छौं, त्यति देशले क्षति व्यहोर्छ ।’
अब सबैले कमजोरी महसुस गरेर राजादेखि माओवादीसम्म सबै शक्ति अटाउने नविन समझदारी गर्नुपर्ने उनले बताए । लिङ्देनले अगाडि भने, ‘नयाँ सम्झौतामा जाउँ भनेर आह्वान गर्न र दबाब सिर्जना गर्न प्रदर्शन गर्न लागिएको हो ।’
तर पछिल्लो दिनमा सरकारले सभा जुलुस गर्न पाउने अधिकार कुन्ठित गर्दै प्रदर्शनलाई साँघुर्याउने प्रयास गरेकाे भन्दै उनले विरोध गरे । शनिबार भएको प्रदर्शनमा समेत प्रहरीले बल प्रयोग गर्नुका साथै भिक्षुलाई लात्ति हान्ने काम गरेको भन्दै त्यसको निन्दा गरे ।
राप्रपाले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उनले भने, ‘त्यो क्रममा कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोज्यो भने त्यसको प्रतिवाद गर्नेछौं । राप्रपा निषेधित क्षेत्र तोडेर अगाडि बढ्ने छ ।’
उनले पर्सिको प्रदर्शनमा साथ दिन राप्रपा बाहेकका दलका नेता कार्यकर्तालाई समेत आग्रह गरे । राप्रपाको झण्डामा आउन नसक्नेहरु राष्ट्रिय झण्डाका साथ आउन सक्ने भन्दै उनले भने, ‘अन्य पार्टीको झण्डा बोकेर आउनु भए पनि हुन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।