Main

सेयर बजारमा दौडिए पाँच समूह, पर्खाइ नेप्सेमा

२५ असार, काठमाडौं । ३ पुस २०८० मा होटल तथा पर्यटन क्षेत्रको सूचक हालसम्मकै उच्च बिन्दु ६०८८ अंक पुग्यो । समग्र सेयर बजार नै निराश अवस्थामा रहेकै बेला होटल तथा पर्यटन समूहले ऐतिहासिक रेकर्ड बनाएको थियो । अहिले यो समूहको सूचक ५५२९ अंकमा छ । अर्थात् उच्चतम अंकबाट ९.१ प्रतिशत झरेको छ ।

३० जेठमा माइक्रोफाइनान्स समूह सूचक १७ महिना (१५ माघ २०७९) यताकै उच्चतम बिन्दु ४७२४ मा पुग्यो । हाल यस समूहको सूचक ४६५६ मा छ । यो समूहको सूचक विगत सात महिना (१९ मंसिर २०८० ) यता करिब ४२ प्रतिशत बढिसकेको छ ।

त्यसपछि १९ असारमा फाइनान्स समूह सूचक विगत २९ महिना (६ माघ २०७८) यताकै उच्चतम बिन्दु २६११ अंकमा पुग्यो । हाल यो समूहको सूचक २५४८ अंकमा छ । विगत नौ महिना (१९ कात्तिक २०८०) मा यो समूह सूचक ६० प्रतिशत बढिसकेको छ ।

२० असारमा विकास बैंक समूह सूचक २७ महिना (२० चैत २०७८) यताकै उच्चतम बिन्दु ४३८८ अंकमा पुग्यो । यो समूह सूचक हाल ४३६१ अंकमा छ । विगत आठ महिना (१९ कात्तिक २०८०) यता यो सूचक २४ प्रतिशत बढिसकेको छ ।

सोही दिन नै व्यापार समूह पनि २९ महिना ( १८ माघ २०७८) यताकै उच्चतम बिन्दु ३११२ अंकमा पुग्यो । विगत आठ महिना (१९ कात्तिक २०८०) यता यो समूह सूचक २२.४ प्रतिशत बढ्यो । यो समूहमा दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र विशाल बजार कम्पनी मात्रै सूचीकृत छन् । यी दुई कम्पनीको मूल्यले मात्रै समूहलाई प्रभाव पार्दछ ।

समग्रमा यी पाँच समूह होटल तथा पर्यटन, माइक्रोफाइनान्स, फाइनान्स, विकास बैंक र व्यापार समूहका सूचक विगत आठ–नौ महिनायता २० प्रतिशतभन्दा धेरैले बढेका छन् । अर्थात्, यी पाँच क्षेत्रका सूचकमा ‘बुलिस ट्रेन्ड’ को संकेत देखिएको छ ।

न्यूनतम बिन्दुबाट ६ महिनाभन्दा बढी अवधि लगाएर कुनै सूचक २० प्रतिशत वा त्यसभन्दा धेरै बढ्नुलाई बुलिस ट्रेन्ड सुरुवातका रूपमा बुझिन्छ ।

पाँच समूह बढ्दा पनि उचालिएन नेप्से

बजारमा सूचीकृत विभिन्न कम्पनीलाई व्यावसायिक प्रकृतिका आधारमा कुल १२ समूहमा विभाजन गरिएको छ । तिनै १२ मध्ये पाँच समूहमा यति धेरै वृद्धि देखिँदा पनि नेप्से परिसूचक भने २२ सय बिन्दुबाट माथि उठ्न सकेको छैन ।

पाँच समूह जतिसुकै बढे पनि समग्र सेयर बजार परिसूचक नेप्से दुई वर्षदेखि नै ‘साइडवेज’ १८०० देखि २२२७ को बीचमा रहँदै आएको छ ।

यसको प्रमुख कारण सबैभन्दा शक्तिशाली समूहहरूले साथ नदिनु हो । बजारको सबैभन्दा शक्तिशाली समूह बैंकिङ हो । जसको बजार हिस्सा (पूँजीकरण अंश) मात्रै २५.८ प्रतिशत छ ।

त्यसपछिको शक्तिशाली हाइड्रोपावर हो, जसको बजार हिस्सा १५ प्रतिशत छ । त्यस्तै बीमा (जीवन र निर्जीवन) समूहको बजार हिस्सा पनि १५ प्रतिशत नै छ ।

बजार हिस्साका आधारमा यी तीन शक्तिशाली समूहले नेप्सेलाई बढी उतारचढाव गराउने क्षमता राख्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् ।

‘पूँजीकरण धेरै भएका कारण बैंकिङले बजारलाई बढी प्रभाव पार्दछ,’ उनले भने, ‘शक्ति भएका ठूला समूह बढ्न नसकेपछि अरू साना समूह बढ्दा नेप्सेले खास र्‍याली समाउन नसकेको हो ।’

बढेका पाँच समूहको कुल बजार हिस्सा जम्मा २० प्रतिशत हुन आउँछ । ‘बैंकिङ तथा हाइड्रोपावर नबढेपछि अरू क्षेत्रले बजारलाई ठूलो असर पार्न सक्दैन, जसले गर्दा पाँच समूह बढे पनि नेप्से परिसूचक बढ्न सकेको छैन,’ सेयर बजार जानकार रामहरि नेपालले भने, ‘नेप्सेलाई २२ सय कटाउने क्षमता वाणिज्य बैंक तथा हाइड्रोपावर समूहमा छ ।’

विगत ६ महिनालाई हेर्दा बैंकिङ समूह २ प्रतिशत घटेको छ भने हाइड्रोपावर समूह ७ प्रतिशत मात्रै बढेको छ । यद्यपि, पछिल्लो दुई महिनामा बैंकिङ समूह पनि १२ प्रतिशतले बढिसकेको छ । यही कारण नेप्से पनि साइडवेजको माथिल्लो बिन्दुमा पुगेको छ ।

नेप्सेमा बुल आउँदा अधिकांश कम्पनी धेरै बढिसक्ने उनी बताउँछन् । ‘अधिकांश कम्पनी बुलमा गइसकेपछि मात्रै नेप्सेमा बुल देखिने हो, नेप्से साइडवेजमा हुँदा ठूला कारोबारीले लोक्यापका कम्पनीलाई चलाउनु स्वभाविक हो,’ उनले भने, ‘यही कारण पहिले होटल चल्यो, त्यसपछि फाइनान्स र माइक्रोफाइनान्स चले, विकास बैंकमा पनि उत्साह देखियो ।’

बजार साइडवेज भइरहँदा पनि लोक्याप कम्पनीबाट कारोबारीले राम्रो नाफा लिन सक्ने भएकाले सुरुवाती चरणमा यिनै कम्पनी बढेको लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् ।

‘लोक्यापका कम्पनी जब ओभरभ्यालुड महसुस हुन्छ, त्यसपछि हाइक्याप कम्पनीतिर लगानी मोडिने हो,’ ढुंगानाले भने, ‘लगानी हाइक्यापतिर जान थालेपछि समग्र परिसूचकमा बुलको संकेत देखिने हो ।’ यही क्रममा अहिले समूह अनुसार नै लोक्याप कम्पनीमा आकर्षण बढिरहेको उनले बताए ।

लोक्याप कम्पनीका सबैजसो सेक्टर एक चरणमा माथि पुगिसकेपछि हाइक्यापका कम्पनीतिर कारोबारी पनि सक्रिय हुने उनको भनाइ छ । ‘सस्तोमा रहने हाइक्यापका कम्पनी जब धेरै संख्यामा खरिद–बिक्री हुन थाल्छ, त्यसपछि हाइक्याप सेक्टर चल्न थाल्छ,’ उनले भने ।

नेप्सेले तल्लो बिन्दु छाडेको हो ? 

दुई वर्षयता सेयर बजारले पटक–पटक १८ सय बिन्दु नजिक आएर फर्किएको छ । ९ असोज २०७९ मा १८१५ अंकमा आएको बजार सोही वर्ष १६ पुसमा २२११ अंकमा पुग्यो । १ जेठ २०८० मा फेरि बजार १८१८ बिन्दुसम्म झर्‍यो । सोही वर्ष ७ साउनमा २२२७ बिन्दुसम्म पुग्यो ।

२२२७ भन्दा माथि जान नसकेपछि ओर्लिएको बजार १९ कात्तिक २०८० मा १८२६ बिन्दुमा झर्‍यो । तर, उक्त अवधिको तीन महिनामै ३ माघ २०८० मा २२ सय पुगेको बजार त्यसयता १९५८ बिन्दुभन्दा तल झर्न सकेन । २४ वैशाख २०८१ मा नेप्से १९५८ अंकसम्म झरेको थियो । अहिले २१३६ अंकमा छ ।

बैंकको ब्याजदर, लगानीयोग्य रकमको पर्याप्तता जस्ता पक्षले पनि बजारलाई साथ दिएको छ । जसले गर्दा बजारले यो सिजनका लागि १८१८ लाई ‘बटम प्वाइन्ट’ बनाएको लगानीकर्ताको अनुमान छ ।

लोक्याप कम्पनीका भाउ बढ्ने, विश्लेषणको एक औजार क्यान्डिलस्टिकमा हायर लो र हायर हाई प्वाइन्ट बन्ने विशेषता बुल बजारका सुरुवाती चरण रहेको प्राविधिक विश्लेषण गर्दै आएकाहरू बताउँछन् ।

यतिबेला लोक्याप कम्पनीको भाउ त बढेको छ, तर २२ सयभन्दा माथि बजार नपुगेसम्म हायर हाई प्वाइन्ट बन्न सक्दैन ।

अहिले नेप्से वृद्धिमा राजनीतिक विषय जोडिएको जय शम्भो इन्भेस्टमेन्ट कम्पनी अध्यक्ष अजयसिंह थापा बताउँछन् । ‘यो केही दिनको वृद्धिमा राजनीतिक विषय जोडिएको छ, त्यसकारण यो दिगो हुन्छ भन्ने आधार कमजोर छ’ उनले भने ।

दुई ठूला राजनीतिक दलबीच सत्ता बाँडफाँटमा सहमति भएपछि गत मंगलबार (१८ असार) देखि नै बजार उकालो लाग्न थालेको हो ।

सत्ता समीकरणका अलवा मौद्रिक नीतिप्रति पनि लगानीकर्ता सकारात्मक देखिन्छन् ।

मौद्रिक नीतिले मुख्यः दुई विषय सम्बोधन गर्न सक्ने लगानीकर्ताको अनुमान छ । सेयर धितोमा जाने ५० लाखमाथिको कर्जामा हाल कायम रहेको जोखिमभार १२५ प्रतिशतलाई १०० मा झार्न सक्ने, सेयर कर्जा व्यक्तिले पाउने १५ र संस्थाले पाउने २० करोडको सीमा बढाउन सक्ने आश लगानीकर्तामा छ । ‘यदि मौद्रिक नीतिले यी विषयमा केही सम्बोधन गरे बजार बढ्न थप टेवा पुग्छ’ नेपालले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button