Main

साताको सेयर समीक्षा : हाइड्रोपावरसहित ४ समूह बढे, जीवन बीमामा भारी गिरावट

२० पुस, काठमाडौं । यो साता आइतबारको सार्वजनिक विदाका कारण ४ दिन मात्रै सेयर बजार खुल्यो । बजार खुलेका ४ दिनमा नेप्से परिसूचक  १ दिन बढ्यो भने बाँकी ३ दिन घट्यो । सोमबार करिब ९ र मंगलबार ३० अंक घटेको बजार बुधबार २८ अंक बढ्यो भने बिहीबार ८ अंक घट्यो ।

समग्रमा यो साता बजार १९ अंक अर्थात ०.९६ प्रतिशत घट्यो । गत साता २०६८.९ अंकमा बन्द भएको नेप्से यो साता २०४९ अंकमा झरेर बन्द भएको छ । गत साता १.९४ प्रतिशतले बजार घटेको थियो । यो साता बजारको गिरावट केही हदसम्म थामिएको छ ।

यो साता जीवन बीमा समूहमा भारी गिरावट देखिएको छ । सो समूह ५.०५ प्रतिशत घट्यो । जीवन बीमाका अलवा बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र अन्य समूह घटे ।

तर बजार घट्दा पनि हाइड्रोपावरसहितका ४ समूह बढे । गत साता सबै समूह घट्दा हाइड्रोपावर समूह सबैभन्दा कम ०.२० प्रतिशतले मात्रै घटेको थियो । उत्पादन र व्यापार समूह पनि बढे ।

जीवन बीमामा उच्च गिरावट 
बुधबार मात्रै बीमा प्राधिकरणले नयाँ जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गर्दा उठाएको प्रिमियम रकमबाट बोनस सेयर दिन नपाउनेगरी पत्र पठायो । बुधबारको पत्रले बिहीबारको बजारमा यो समूहलाई ठूलो असर पार्‍यो ।

तर सोमबादेखि नै जीवन बीमा समूह उच्च दरले घटेको थियो । नयाँ जीवन बीमा कम्पनीहरुले उठाएको प्रिमियम रकमका सम्बन्धमा अदालतमा मुद्दा विचाराधिन रहेकाले कतै आईपीओ पर्नेलाई नै रकम फिर्ता गर्नुपर्ने पो हो कि भन्ने शंका लगानीकर्तामा छ ।

गत साताकै बिहीबार बसेको लेखा समितिको बैठकमा नयाँ जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गर्दा उठाएको प्रिमियम रकमबारे छलफल भएको थियो । छलफलपछि समितिले यसलाई सच्याउन भनेर बीमा प्राधिकरणलाई निर्देशन दियो ।

यसपछि नै शंशकित भएका जीवन बीमाका लगानीकर्ताले आइतबार बजार बन्द भएकाले सोमबार देखि नै आपूर्ति बढाइदिए, जसले गर्दा सोमबार र मंगलबार जीवन बीमा समूह उच्च दरले घट्यो । बुधबार केही सम्हालिए प्राधिकरणले बुधबार नै ती कम्पनीले प्रिमियम रकमबाट तत्काललाई बोनस सेयर दिन नपाउने भनी पठाएपछि बिहीबार पनि यो समूह प्रभावित बन्यो ।

४ नयाँ जीवन बीमा कम्पनीले आईपीओ जारी गर्दा प्रिमियम रकम उठाएका थिए, यसको असर ४ जीवन बीमा कम्पनीलाई मात्रै नभई समग्र जीवन बीमा समूहमा पर्न गयो । केही जीवन बीमा कम्पनीहरुको मूल्य घट्न थाल्दा अन्य जीवन बीमा कम्पनीका लगानीकर्ता पनि आत्तिन पुगे ।

सीमित कम्पनीले उचाल्यो लगानी समूह
यो साता लगानी समूह सबैभन्दा धेरै ५.१९ प्रतिशतले बढ्यो । लगानी समूह यति धेरै बढ्नुमा सीमित केही कम्पनीको योगदान छ । यो समूहमा जम्मा ७ वटा कम्पनी पर्दछन् । यी ७ मध्ये ३ कम्पनी उच्च मूल्य बढ्ने ‘टप सेभेन’ (१५ प्रतिशतभन्दा बढी वृद्धिदर) मा परे ।

हाथवे इन्भेस्टमेन्ट, सीईडीबी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको मूल्य यो साता १५ प्रतिशतभन्दा धेरैले बढ्यो । बाँकी अन्य ४ कम्पनीमध्ये नागरिक लगानी कोषको मूल्य सामान्य घट्यो भने एचआईडीसीएल, निफ्रा र इमर्जिङ नेपालको मूल्य सामान्य बढ्यो । यो समूहका ७ कम्पनीमध्ये एउटाको मूल्य सामान्य घट्ने, ३ वटाको बढ्ने र ३ वटाको उच्च दरले बढ्दा समग्र समूह बढी प्रभावित बन्यो ।

यो साता धेरै मूल्य बढेका कम्पनी :
यो साता ७ कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । यो साता धेरै मूल्य बढेका कम्पनीमा पनि बजारमा सूचीकृत नयाँ कम्पनी अगाडि रहे । नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र चिरख्वा हाइड्रोपावर कम्पनी धेरै मूल्य बढ्नेमा सबैभन्दा अगाडि रहे । यी तीनै कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले आईपीओ जारी गरेर हालै बजारमा थपिएका हुन् ।

बजारमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि दिइने मूल्य बजारका अरु तुलनात्मक कम्पनीकोभन्दा कम हुने भएकाले सामान्यतः प्रिमियम नथपेर अंकित मूल्यमा जारी भएका सबैजसो नयाँ सूचीकृत कम्पनीको सेयर मूल्य केही दिन बढ्ने गर्दछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button