अमेरिका, हङकङ र जापानमा ‘सानो संसार’को प्रदर्शन तय
काठमाडौं । कार्तिक ९ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘सानो संसार’ अब विदेशमा लाग्ने भएको छ । निर्माता अर्जुन कुमारले विभिन्न मुलुकको वितरण अधिकार विक्री भएको जनाएका छन् ।
फिल्मले राम्रो प्रतिक्रिया पाएसँगै विदेशबाट माग बढेको निर्माताको भनाइ छ । अहिलेसम्म अमेरिका, हङकङ र जापान वितरण अधिकार विक्री भएको छ ।
हङकङमा इन्टीग्रेटेड नेप्लीज सोसाइटी लिमिटेड र जापानमा टोकियो ड्रिम्स इन्टरटेनमेन्टले राइट खरिद गरेका छन् । चाँडै यी देशमा प्रदर्शन सुरु हुने निर्माण टिमले जानकारी दिएको छ । नेपालका कतिपय हलमा अहिले पनि यो फिल्म प्रदर्शन भैरहेको छ ।
हेरेका दर्शकले फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् । नेपालमा पहिलो पटक असोज ११ गतेबाट प्रदर्शनमा आएको फिल्म प्राकृतिक विपत्तीका कारण रोकिएको थियो । त्यसपछि कार्तिक ९ गतेबाट निरन्तर प्रदर्शन भैरहेको छ ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा निर्माण भएको फिल्ममा सीतादेवी तिमिल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतमको अभिनय छ । सबै कलाकारको यो डेब्यु फिल्म हो ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा फिल्म निर्माण भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।