बालिका सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

२२ फागुन, काठमाडौं । काठमाडौंमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, गौशालाले सामूहिक बलात्कारको आरोपमा दार्चुला घर भएर बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने १८ वर्षका शुभराज पन्त र बाजुरा घर भएर कपन बस्ने १९ वर्षका चेतराज दानीलाई पक्राउ गरेको हो ।
बालिकाकी आमाले प्रहरी वृत्त बौद्धमा दिएको जाहेरी अनुसार पन्त र दानीले फेसबुकमार्फत चिनजान भएकी बालिकालाई जरुरी काम भएको भन्दै २१ माघमा डेरामा बोलाएका थिए ।
त्यसपछि बालिका उनीहरुले नै बुक गरेको राइड सेयरको मोटरसाइकल चढेर दानीको कोठा नजिक पुगेकी थिइन् ।
‘कोठामा प्रवेश गरेपछि पन्तले कोठाको चुकुल लगाएका थिए, मैले किन बन्द गर्नुभएको भन्दा बाहिरको मान्छेले देख्छन् भन्दै चुकुल लगाएका थिए’, बालिकाको भनाइ उधृत गर्दै प्रहरी स्रोतले भन्यो ।
त्यसपछि पन्त केही किन्न कोठा बाहिर गएको र दानीले जबर्जस्ती करणी गरेको बालिकाले प्रहरीसमक्ष बताएकी छन् ।
पन्त फर्केपछि बालिकालाई ‘इकोन’ नामको औषधि खुवाएको पाइएको प्रहरीले जनाएको छ । त्यसपछि पन्तले पनि आफूलाई करणी गरेको बालिकाले प्रहरीसमक्ष बताएकी छन् । उनीहरुले यो कुरा कसैलाई भने मार्ने धम्की दिएका थिए ।
बालिकाले उक्त घटनाबारे आमालाई भनेपछि प्रहरीमा जाहेरी परेको थियो । बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य जाँच गरिएको थियो ।
यो घटनामा अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ । सरकारी वकिलले अदालतमा मुद्दा दायर समेत गरिसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।