काठमान्डु गुर्खाजको जर्सी सार्वजनिक

२ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गुर्खाजले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । आइतबार होटल याक एन्ड यतिमा भएको भव्य कार्यक्रमका बीच काठमान्डु गुर्खाजको जर्सी र टिभिसी सार्वजनिक गरिएको हो ।
काठमाडौं स्पोर्ट्स डेभलपमेण्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजकी को-फाउन्डर श्रृंखला खतिवडा र क्रिकेट एमबासडर इन्दु बर्माको उपस्थितिमा करण केसीले जर्सी सार्वजनिक गरेका हुन् ।
काठमाडौंको जर्सीमा मुख्य रङ कालो रहेको छ भने त्यसमा पहेँलो स्याडो प्रयोग भएको छ । जर्सी नम्बर सेतो रङको छ । कार्यक्रममा खेलाडीहरुलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो भने कार्यक्रममा कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति पनि दिइएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष उपेन्द्र महतोले आफ्नो टोली काठमाडौंले ट्रफी जित्नेमा आशावादी रहेको बताए । त्यस्तै खेलाडीहरुले पनि देशकै शिर उच्च हुने गरी प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए । यसै कार्यक्रममार्फत नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मालाई क्रिकेट एम्बासडरको रुपमा घोषणा गरिएको थियो ।
कार्यक्रममा बोल्दै इन्दु बर्माले एनपीएल क्रिकेटको उत्सव भएको बताउँदै यसले भविष्यमा नेपाली क्रिकेटकै उचाई बढ्नेमा विश्वास व्यक्त गर्दै महिलाहरुको फ्रेन्चाइज लिग पनि हुनेमा आफूहरु ढुक्क रहेको बताइन् ।
कार्यक्रममा बोल्दै मार्की खेलाडी करण केसीले मार्कीका रुपमा खेल्न पाउनु विशेष भएको बताए । एनपीएलले भविष्यमा क्रिकेटको विकासमा मद्दत पुग्ने बताउँदै उनले काठमाडौंको टोली राम्रो रहेको र उपाधि जित्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यसैगरी क्यान सचिव पारस खड्काले नेपाली क्रिकेटमा धेरै वर्षपछि यो क्षण आएको बताउँदै आगामी ४-५ वर्षमा नेपालको लिगलाई विश्वकै टप ५ लिगहरुमध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाली क्रिकेटलाई सबैको साथको जरुरी भएको उल्लेख गर्दै उनले आगामी वर्षमा अझै ठुला क्रिकेटरहरु समावेश गराउन सकिने विश्वास व्यक्त गरे ।
एनपीएल क्रिकेट आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा हुँदैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।