Main

विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत

२९ कात्तिक, काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको नेपाली मिहिला टोलीलाई भव्य स्वागत गरिएको छ ।

बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का पदाधिकारी लगायतले यू१९ महिला क्रिकेट टोलीलाई स्वागत गरेको हो ।

दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहेर अर्को वर्ष जनवरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट भएको हो ।

चार टोली सहभागि छनोटमा नेपाल र युएईले समान ५ जितबाट १० अंक जोडेपनि नेटरनरेटमा नेपालले युएईलाई पछि पार्‍यो ।

यसअघि युएई र थाइल्याण्ड भन्दा पछि रहेपछि छनोट हुन असफल रहेको युवा महिला टोलीले यस पटक भने विश्वकप पुगेर नेपाली क्रिकेटमा इतिहास रचेको हो । महिला क्रिकेटमा नेपालको कुनै पनि टोली विश्वकपमा छनोट भएको यो पहिलो पटक हो ।

एसिया छनोट जितेपछि नेपाल आगामी डिसेम्बरमा मलेसियामै हुने एसीसी यू-१९ महिला एसिया कपका लागि समेत छनोट भएको छ । जहाँ नेपालले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ ।

यू-१९ टी२० विश्वकपमा नेपाल समूह डी मा छ । जहाँ नेपालले अष्ट्रेलिया र बंगलादेशसहित युरोप छनोटको विजेता हुँदै छानिएको स्कटल्याण्डसँग खेल्नेछ ।

महिला क्रिकेटमा स्वर्णिम युगको सुरुवात भएको प्रशिक्षक महेश प्रसाद रिजालले बताए । टिमवर्कले नेपाल विश्वकप पुग्न सफल भएको कप्तान पुजा महतोले बताइन् ।

महिला क्रिकेट नयाँ उचाई चुम्ने पर्खाइमा थियो । यू१९ टोलीले त्यसलाई वास्तविकतामा परिणत गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले बताए ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button