ललितपुर महानगरको बजेट कार्यान्वयनमा सुधार

२४ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले बजेट कार्यान्वयनमा सुधार गरेको छ ।
महानगरका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा ल्याएको बजेट कार्यान्वयन अघिल्लो आवभन्दा सुधार आएको हो ।
चालु आवमा महानगरले कुल ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बजेट ल्याएको थियो । जसमध्ये ५ अर्ब ४३ करोड ५७ लाख अर्थात ८३ दशमलव ६२ प्रतिशत खर्च भइसकेको महानगरले जनाएको छ ।
महानगरले चालु खर्च स्वभाभिवक रुपमा सधैं गर्ने भए पनि यो आवमा पूँजीगत खर्च पनि बढाएको छ । पूँजीगत तर्फ छुट्याएको ४ अर्ब २१ लाख रुपैयाँ मध्ये ८१.३ प्रतिशत खर्च गर्न सफल भएको हो ।
यस्तै चालु खर्च तर्फ २ अर्ब ४९ करोड ८४ लाख मध्ये ८५ दशमलव ४१ प्रतिशत महानगरपालिकाले खर्च गरेको छ ।
आन्तरिक राजस्व तर्फ २ अर्ब ४० करोड लक्ष्य राखेकोमा ९८.५ प्रतिशत संकलन भएको छ । अन्तिम दिनसम्म १०० प्रतिशत नै हुने महानगरको दाबी छ ।
महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरले पूँजीगत खर्च बढ्दा महानगरको खर्च बढेको बताइन् ।
‘महानगरले आफ्नो कामलाई तीव्रता पनि दिएको छ । बजेट कार्यान्वयन गर्न सबैले आफ्नो ठाउँबाट काम गर्दा खर्च पनि बढेको हो,’ उनले भनिन् ।
महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंले सम्भवत अहिलेसम्मको उत्कृष्ट बजेट कार्यान्वयन भएको दाबी गरे ।
‘सायद अहिलेसम्म पूँजीगत खर्चमा यति राम्रो प्रगति देखिएको थिएन होला, यो पटक देखिएको छ । बजेट कार्यान्वयनको हिसाबले संघीयता आइसकेपछि नै सबैभन्दा राम्रो अहिले भएको जस्तो लाग्छ,’ उनले भने ।
अघिल्ला आवहरूमा महानगरले दोस्रो नगरसभा मार्फत बजेटको अनुमान संशोधन गर्ने गरेपनि यो पटक नगरेको उनको तर्क छ ।
गत वर्ष ६५ प्रतिशत
गत आर्थिक वर्ष २०७९/८० मा ललितपुर महानगरपालिकाको कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाख थियो । जसमध्ये ४ अर्ब १७ करोड ९३ लाख अर्थात ६५ प्रतिशत खर्च भएको महानगरले जनाएको छ ।
महानगरका अनुसार चालुतर्फ १ अर्ब ६४ करोड २१ लाख र पूँजीगततर्फ २ अर्ब ५३ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।
गत आवमा आन्तरिक राजस्वमा ललितपुर महानगरपालिकाले लक्ष्यभन्दा धेरै उठाउन सफल भएको थियो । १ अर्ब ३५ करोड आन्तरिक राजस्व लक्ष्य राखेको १ अर्ब ५० करोड संकलन भएको थियो । जुन लक्ष्यको १११ प्रतिशत बढी थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।