रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को ट्रेलर : शैक्षिक बेरोजगारीमाथि कटाक्ष

काठमाडौं । वैशाख १ गते रिलिज तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बाँसुरी फिल्म्सले मर्मस्पर्शी ट्रेलर सार्वजनिक गर्यो ।
चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । निर्देशक गुरुङले टिजर रिलिजदेखि नै दर्शकबाट प्राप्त प्रतिक्रियालाई लिएर आफूहरु उत्साहित रहेको बताए ।
दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहेको सोसल–ड्रामा फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर उसले पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।
आदर्शवादी लाग्ने यो चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । यसअघि सोही नाममा दयाहाङ निर्देशित नाटक समेत मञ्चन भइसकेको छ ।
फिल्म निर्माणमा बाँसुरी फिल्म्स र सुस्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे समेत अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई फिल्मले बटमलाइन बनाएको छ ।
रामबाबुले ‘डिग्री माइला’ रिलिजपछि २०८१ सालमा ‘सुन्दर बजार’ र ‘कबड्डी ५’ बनाउने तयारी गरिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।