Main

बालेनलाई सिध्याउन लामो तालिकासहित नयाँ खेलको सुरुवात हुन थाल्यो : शिव परियार

काठमाडौं । गायक शिव परियार सामाजिक र राजनीतिक विषयमा बेलामौकामा टिप्पणी गरिहन्छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको पछिल्लो प्रतिवेदनलाई लिएर पनि टिप्पणी गरेका छन् ।

हालै रास्वपा महामन्त्री ढकालले ल्याएको ३२ पाने प्रतिवेदनका कारण पार्टीपंक्ति मात्रै होइन, राष्ट्रिय राजनीति नै तरंगित बनिरहेको छ । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गरेर रास्वपा अघि बढ्नुपर्ने प्रतिवेदन तयार पारेका छन् । बालेनसहित धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसँग पनि सहकार्य गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

बालेन, गोपी हमाल र रास्वपाबीच सहकार्य भएमा २०८४ को निर्वाचन्मा स्पष्ट बहुमत ल्याउन सकिने ढकालको दाबी छ ।

प्रतिवेदनमा उल्लेख यही विषयलाई लिएर गायक परियारले टिप्पणी गरेका हुन् । उनले यो बालेनको राजनीतिक करिअर सिध्याउने योजना अनुरुप आएको दाबी गरेका छन् ।

‘अचानक नाटकीय स्वरूपमा रास्वपाले आफ्नो नयाँ प्रतिवेदनमा बालेनसँग मिलेर नगए भविष्यमा पार्टीलाई भारी पर्ने र भविष्यमा पार्टी सकिनेसम्मको समाचार बाहिर आएको देखियो | र, अहिले सरकारबाट बाहिर निस्कनुपर्ने धारणा राखेको पनि देखियो,’ शिवले लेखेका छन्, ‘मेरो विचारमा यो २०८४ सालमा हुने चुनावी रणनीतिका लागि पूर्व देखाएर पश्चिमतिर पड्काउने नेपाली राजनीति अति नै पुराना खेलाडीको योजना र डिजाइन अनुरुप, पार्टीको एउटा खेमाले बालेनसँग मिल्न चाहेको सन्देश प्रवाह गर्नुले बालेन नयाँ शक्तिको रुपमा उदाउन सक्ने पूर्वानुमानसहित अन्तत: बालेनलाई सिध्याउने नीति अनुरुप लामो समयको खेल तालिकासहित नयाँ खेलको सुरुवात हुन लागेको महसुस हुन्छ |’

राजनीतिक खेल बाहिर देखिए जस्तो नहुने भन्दै उनले लेखेका छन्, ‘सुरुमा मिल्ने र पछि निल्ने कुनै पनि व्यक्ति, संस्था र राजनीतिक चरित्रसँग सावधान बालेन ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button