बालकुमारी घटना जाँचबुझ आयोगले लियो यातायात मन्त्री ज्वालाको बयान

२६ माघ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बयान लिएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा रहेको आयोगको कार्यालयमा पुगेर उनले केहिदिन अघि बयान दिएको समितिका एक सदस्यले अनलाइनखबरलाई बताए ।
विद्यार्थीहरुको प्रदर्शन चलिरहेका बेला मन्त्री ज्वाला बालकुमारीमा पुग्दा प्रदर्शनकारीले उनको गाडीमा आगजनी गरेका थिए ।
त्यसक्रममा ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडी पूर्णतः जलेको थियो । मन्त्रीको गाडी देखेपछि प्रदर्शनकारी थप आक्रोशित बनेको छानबिन समितिका सदस्यहरु बताउँछन् ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले पनि संसद्को कानून, न्याय तथा मानवअधिकार समितिमा पुगेर मन्त्री ज्वाला त्यहाँ नपुगेको भए परिस्थिति अर्कै हुनसक्ने जिकिर गरेका थिए ।
यसमा ज्वालाको सुरक्षामा खटिएका निजी सुरक्षा अधिकृतको कमजोरी देखिएको भन्दै उनको सरुवा समेत गरिएको थियो ।
१३ पुसमा भएको घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । यही प्रकरणलाई लिएर ललितपुरका तत्कालीन एसएसपी सिद्धिविक्रम शाह र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको जिम्मेवारी पनि खोसेको थियो ।
मन्त्रिपरिषद्को १६ पुसमा बसेको बैठकले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा समिति बनाएको थियो । समितिमा प्रहरीका पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सह–सचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।
आयोगलाई घटनामा भएको मानवीय, भौतिक लगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने जिम्मेवारी छ । घटनाको कारण, सुरक्षा प्रबन्ध र सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने जिम्मा पनि आयोगलाई दिइएको छ ।
घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपायसहितको सिफारिस गर्न पनि आयोगलाई भनिएको छ । आयोगलाई एक महिनाको समय दिइए पनि फेरि १५ दिन म्याद थप गरिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।