Main

नरेश श्रेष्ठ मेमोरियल यु-१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीमाथि मधेशको रोमाञ्चक जित

२० कात्तिक ,विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार लिग चरणको अन्तिम खेलमा मधेश र कर्णाली प्रदेश विजयी भएका छन् ।

बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा मधेशले यसअघि नै फाइनलमा स्थान बनाइसकेको लुम्बिनी प्रदेशमाथि १ रनको रोमाञ्चक जित हात पारेको हो । यसअघि लगातार ५ खेल जितेर अपराजित लुम्बिनी अन्तिम लिग खेलमा पराजित भएको हो ।

७१ रनको लक्ष्य मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै भेट्टाएको हो । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्विनीका रमेह कुर्मीले ४ तथा सन्तोष यादवले ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्विनीले २० ओभरमा सबै विकेट गुमाई ७० रन बनाएको थियो ।  लुम्विनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् । मधेशका प्लेयर अफ द म्याच अविशेख तिवारीले ६ ओभरमा १६ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

यसैगरी विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले बागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले २०.५ ओभरमा सवै विकेट गु्माई ७५ रनमा सिमित भएको थियो ।

कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । बागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३.५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र  खर्चे । दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिए ।

७६ रनको लक्ष्य पाएको बागमतीले १८.३ ओभरमा सबै विकेट गुमाएर ५५ रनमै अलआउट भयो ।

बागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा कप्तान उत्तम मगरले १० रन जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका प्लेयर अफ द म्याचविपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चुनराले ३–३ विकेट लिए ।

लिग चरणको सबै खेल खेल सकिँदा सुदूरपश्चिम र लुम्बिनीले ५ खेल जितेर समान १० अंक जोडे । अन्तिम खेलमा लुम्बिनी पराजित भएपछि सुदूरपश्चिम नेटरेनरेटमा अघि रहँदै शीर्ष स्थानमा उक्लियो । लुम्बिनीले पनि समान १० अंक जोडेर दोस्रो स्थानमा छ । अब लुम्बिनी र सुदूरपश्चिमबीच बुधबार फाइनल खेल हुनेछ । लिग चरणमा लुम्बिनीले सुदूरपिश्चिमलाई पराजित गरेको थियो ।

त्यस्तै गण्डकी र मधेशले समान ३ मा जित र ३ मा हारको नतिजासहित ६ अंक जोडे । रेनरेटमा गण्डकी अघि रहँदै तेस्रो भयो भने मधेशले चौथो स्थानमा प्रतियोगिता सकायो ।

यसैगरी बागमती र कर्णाली प्रदेशले समान २ खेल जित्दै ४ अंक जोडेर क्रमश: पाँचौ र छैटौं स्थानमा रहे । एक खेल मात्र जितेको कोशी प्रदेश २ अंकसहित सातौं स्थानमा रह्यो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button