अमेरिकी डलरमा कारोबार घटाउन चीन सफल

१८ जेठ । विश्वव्यापी कारोबारमा चीनले अमेरिकी डलरको वर्चस्व क्रमिक रुपमा घटाउँदै गएको छ । विश्वका धेरै राष्ट्रहरुले अझै पनि मुद्रा भण्डारणका क्रममा डलरलाई नै प्राथमिकता दिने, डलरबाटै कारोबार गर्ने परिपाटी रहेकोमा यसलाई घटाउन चीन सफल भएको छ । ब्लुमबर्गले सार्वजनिक गरेको एक रिपोर्टअनुसार चीनले गरेको अन्तर्राष्ट्रिय कारोबारमा डलरको प्रयोग उल्लेख्य रुपमा घट्दै गएको छ ।
चीनले गरेको अन्तर्राष्ट्रिय कारोबारमा २०२४ मार्चमा डलरको प्रयोग ४२.८ प्रतिशत छ । जबकि २०२३ मार्चमा डलरको प्रयोग ४६.७ प्रतिशत थियो भने २०२२ मार्च मा ५३.३ प्रतिशत थियो ।
पछिल्ला तीन वर्षको समीक्षा अवधिलाई हेर्दा चीनले गरेको कारोबारमा चीनियाँ मुद्रा रेन्मिन्बी (युवान)को लेनदेन बढेको छ । अहिले चिनियाँ मुद्रामै उसले गर्ने कारोबार आधाभन्दा बढी छ । २०२२ मार्चमा रेन्मिन्बीबाट हुने कारोबार ४२.१ प्रतिशत रहेकोमा २०२३ मार्चमा ४८.४ र २०२४ मार्चमा ५२.९ प्रतिशत रहेको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय कारोबारमा चीनले गरेको मुद्रा लेनदेन अंश
कारोबारमा डलर घटाएको, रेन्मिन्बी प्रयोग बढाएको चीनले गरेको अन्य मुद्रा प्रयोग भने धेरै हदसम्म स्थिर छ । २०२४ मार्चमा अन्य मुद्रामा भएको कारोबार ४.३ प्रतिशत छ । २०२३ मार्चमा यो ४.९ प्रतिशत थियो भने २०२२ मार्चमा ४.७ प्रतिशत थियो ।
डेढ दशकदेखि नै चीन कारोबारमा अमेरिकी डलरको प्रयोग घटाउन सफल भएको देखिन्छ । २०१० मार्चमा चीनले डलरमा गरेको कारोबार ८४.३ प्रतिशत थियो भने रेन्मिन्बीमा गरेको कारोबार जम्मा ०.३ प्रतिशत मात्रै थियो । ५ वर्षपछि २०१५ मा डलरमा हुने कारोबार घटाउन चीन सफल भयो ।
२०१५ मार्चमा चीनले गरेको अन्तर्राष्ट्रिय कारोबारमा डलरको प्रयोग ६१.९ प्रतिशतमा झर्यो भने रेन्मिन्बीमा भएको कारोबार २९ प्रतिशत पुग्यो । अहिले कुल कारोबारमा आधाभन्दा बढी अंश रेन्मिन्बीले ओगट्न थालेको छ ।
विश्वव्यापी रुपमा भने अमेरिकी डलरमा कारोबार घट्न सकेको छैन । जसले गर्दा तत्कालै ‘डि-डलराइजेसन’ हुने सम्भावना नरहेको रिपोर्टमा उल्लेख छ। बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस)का अनुसार २०२२ मा डलरमा भएको कारोबार अंश ८८.५ प्रतिशत छ । डलरपछि यूरो, येन, पौन्डस्टर्लिङको प्रयोग क्रमशः ३०.५, १६.७ र १२.९ प्रतिशत छ । रेन्मिन्बी पाँचौ स्थानमा छ, सो मुद्राको अंश ७ प्रतिशत छ । बीआईएसले २०२२ यताको तथ्यांक भने सार्वजनिक गरेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।