अमेरिकी राष्ट्रपतीय चुनावमा कुन नेपाली कलाकारले भोट हाले ?

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । नेपाली समयानुसार बुधबार बिहान भएको मतदानमा नेपाली सेलेब्रिटीले पनि भाग लिए ।
मतदानपछि नेपाली कलाकारले सामाजिक संजालबाट यसबारे जानकारी दिएका छन् । कतिले गतसाता नै ‘अर्ली मतदान’ गरिसकेका छन् । मंगलबारको चुनावमा मतदान गरेपछि नेपाली कलाकारले उत्साह व्यक्त गरेका छन् ।
‘मैले भोट हालेँ । तपाईंले हाल्नुभयो ?’ मतदानपछि अभिनेत्री अरुणिमा लम्सालले पोस्ट गरेकी छन् । उनले मेरिल्याण्ड राज्यको रोसेडेलस्थित सेडी स्प्रिङ एलिमेन्ट्री स्कुलको मतदान केन्द्रमा पुगेर भोट हालेकी हुन् ।
अभिनेत्री सारंगा श्रेष्ठले पनि मतदान गरिन् । ‘मैले सहि मान्छेलाई भोट दिएँ । आशा छ तपाईंले पनि सहि उम्मेदवारलाई भोट दिनुभएको होला’ भोट हालेपछिको रिल्स भिडियोमा उनले भनेकी छन् ।

अभिनेता राहुल केसीले पनि मेरिल्याण्डमा मतदान गरेका छन् । थुप्रै नेपाली फिल्म र म्युजिक भिडियोमा अभिनय गरेका केसी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाका वर्तमान अध्यक्ष समेत हुन् । गीतकार सतिश चापागाईंले समेत मेरिल्याण्डमा भोट हालेका छन् ।
फेसन डिजाइनर प्रबल गुरुङले गतसाता नै कमला ह्यारिसको पक्षमा अर्ली भोट हालिसकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।