अरनिको स्कुल जित्यो अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि

१२ फागुन, विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ ।
शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित च्याम्पियन बनेको हो ।
सरस्वती स्कुलले दिएकझ १०८ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको हो । अरनिकोको जितमा म्यान अफ द फाइनल अविशेक यादवले ५० रन बनाउँदा साजव यादवले १३ रनको योगदान दिए । सरस्वतीका रोहन मण्डल, निरज यादव र अविशेक यादवले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अविशेक यादवले २२ रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ तथा साजन यादवले २ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अविशेक यादव घोषित भए ।यस्तै कोशी मोडेलका रविन मण्डल उत्कृष्ट ब्याटर र न्यू मूनका सहवाज आलम उत्कृष्ट बलर घोषित भए ।
विजयी तथा अन्य खेलाडीलाई राखेपका पूर्व सदस्य सुधिर अर्याल, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।