अर्जेन्टिना र इक्वेडर पहिलो क्वार्टरफाइनलमा भिड्दै

२० असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलका खेलहरु शुक्रबार बिहान सुरु हुँदैछ ।
पहिलो क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरसँग खेल्नेछ । उक्त खेल शुक्रबार बिहान नेपाली समयअनुसार ६:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना समूह ए को विजेता बन्दै क्वार्टरफाइनल पुगेको हो भने इक्वेडर समूह बी को उपविजेता हो ।
अर्जेन्टिना अहिले उच्च लयमा छ । उसका लागि लाउटारो मार्टिनेजले सर्वाधिक ४ गोल गरिसकेका छन् । उनले समूह चरणको सबै तीन खेलमा गोल गरेका थिए ।
कप्तान लिओनल मेसीले चोटका कारण पेरुविरुद्ध समूहको अन्तिम खेल खेलेका थिएनन् । मेसी इक्वेडरविरुद्धको खेलमा मैदान फर्कन सक्छन् । तर उनले खेल्ने नखेल्ने निश्चित छैन ।
मेसी नखेलेमा अग्रपंक्तिमा लाउटारो र जुलियन अल्भारेजले सम्हाल्न सक्छन् ।
उता इक्वेडरले समूहको अन्तिम खेलमा मेक्सिकोलाई बराबरीमा रोक्दै अन्तिम आठमा स्थान बनाएको थियो । इक्वेडरका मोइसेस साइसेडो उच्च लयमा छन् । यस्तै केन्ड्री पाएजले पनि युवा उमेरमै राम्रो सम्भावना देखाएका छन् ।
अर्जेन्टिना र इक्वेडर कोपा अमेरिकामा अहिलेसम्म १६ पटक खेल्दा अर्जेन्टिना अपराजित छ । अर्जेन्टिनाले ११ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।
नकआउट चरणमा भने अहिलेसम्म यी दुई टोली एक पटक भिडेका थिए । सन् २०२१ को क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गरेको थियो ।
अर्जेन्टिना–इक्वेडर खेलको इतिहास
अर्जेन्टिनाले सबैखाले प्रतियोगितामा गरेर पछिल्लो ८ खेल जितेको छ । प्रशिक्षक लियोनल स्कालोनीको प्रशिक्षणमा यो कीर्तिमानी जितयात्रा हो । यदि क्वार्टरफाइनलमा इक्वेडर विरुद्ध जित हात पारे सन् २०१८ मा डेब्यु गरेका प्रशिक्षक स्कालोनीका लागि नयाँ कीर्तिमान बन्नेछ ।
लाउटारो मार्टिनजेल २०२४ को कवपामा अहिलेसम्म ४ गोल गरेका छन् । २१औं शताब्दीमा अहिलेसम्म अर्जेन्टिनाका लागि दुई खेलाडीले मात्र एकै संस्करणमा त्यो भन्दा धेरै गोल गरेका छन् । जुवान रोमन रिक्वेल्मले २००७ र मेसीले २०१६ मा ५-५ गोल गरेका थिए ।
इक्वेडरका केन्ड्री पाएजले सबैभन्दा धेरै १९ पटक बल रिकभरी गरेका छन् । यस्तै समूह बी मा धेरै सुट गर्नेमा उनी सालोमोन रान्डोन भन्दा पछि दोस्रोमा छ । रान्डोनले १३ र पाएजले १० सुट प्रहार गरेका छन् ।
अर्जेन्टिनाको गोलकिपर एमिलियानो मार्टिनजेले कोपा अमेरिकाको समूह चरणमा गोल बेहोरेका छैनन् । यदि उनले क्वार्टरफाइनलमा क्लिनसिट राखेमा गत संस्करणमा ब्राजिलमा राखेको चार क्लिनसिटको कीर्तिमान बराबरी गर्नेछन् ।
अर्जेन्टिनाका लागि यसअघि एक गोलकिपरले मात्र दुई फरक संस्करणमा ४-४ क्लिनसिट राखेका छन् । सर्जियो रोमेरोले सन् २०१५ र २०१६ मा चार क्लिनसिट राखेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।