Main

साफ वुमन्स च्याम्पियनसिपको टिकटमा दर्शकलाई सास्तीमात्रै

१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्न बिहानैदेखि टिकट लने लाइनमा बसेका धेरै समर्थक टिकट नपाएर निराश फर्किए ।

एन्फाले अनलाइनमार्फत हुने टिकट बिक्री रोकेर बुधबार बिहान जाउलाखेल खेलमैदान र भद्रकालीस्थित जंगीअड्डाको गेटबाट भौतिक रुपमा नै टिकट बिक्री गरेको थियो ।

तर फाइनल खेलका लागि बिक्री गर्ने भनेर तोकिएको ११ हजार टिकट एक घण्टामै बिक्री भयो र लाइन बसेका धेरै दर्शक रित्तो हात फर्किनुपर्‍यो ।

बुधबार बिहान ४ बजेदेखि दर्शक टिकटका लागि लाइन बसेका थिए । जंगीअड्डाको गेटमा लाइन लागेकाहरुलाई बिहान साढे ९ बजेपछि मात्र टिकट वितरण गरिएको थियो ।

किन आयो यस्तो स्थिति ?

एन्फाले साफ वुमन्स च्याम्पियनसिपको टिकटको अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स म्यानेजमेन्टलालाई ८० लाख रुपैयाँमा बिक्री गरेको थियो ।

माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्टले सेमिफाइनल खेलसम्मको टिकट डिजिटल वालेट खल्तीसँग सहकार्य गरेर अनलाइनमार्फत बिक्री गरेको थियो ।

तर नेपाल र भारतबीचको सेमिफाइनल खेलमा तोकिएको भन्दा बढी टिकट बिक्री गरेर सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको र सम्झौता बमोजिमको रकम भुक्तानी नगरेको भन्दै सम्झौता रद्द गर्‍यो र फाइनल खेलको टिकट आफैं बिक्री गर्ने निर्णय गर्‍यो ।

दशरथ रंगशालाको क्षमता १५ हजार मात्र छ । तर आधिकारिक म्याच रिपोर्टका अनुसार नेपाल र भारतबीचको सेमिफाइनल खेल हेर्न रंगशालामा १८ हजार ९ जना उपस्थित थिए ।

माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्टका अध्यक्ष थमन भुसालले सेमिफाइनलमा साधारणतर्फ ११ हजार भीआईपीतर्फ १ हजार ५०० थान मात्र टिकट बिक्री गरेको बताए ।

‘हामीले जम्मा १२ हजार ५०० टिकट बिक्री गरेका थियौँ । हामीले त्यो भन्दा धेरै बेचेका छैनौं’, थमनले अनलाइनखबरसँग भने ।

एन्फाले क्षमता भन्दा धेरै दर्शक रंगशाला प्रवेश गराएकामा आपत्ति जनाउँदै माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्टलाई मंगलबार साँझ फाइनल खेलको टिकट बिक्री रोक्न निर्देशन दियो ।

त्यसपछि आफैं टिकट बिक्री गर्ने निर्णय गर्दै एन्फाले दर्शकहरुले अनलाइनमार्फत टिकट किन्न नपाउने बनायो । खेल हेर्न चाहनेले भौतिक रुपमै उपस्थित भएर टिकट काट्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यो बेलासम्म फाइनल खेलका लागि साधारणतर्फ ४ हजार १०० र भीआईपीतर्फ १ हजार ५०० टिकट बिक्री भइसकेको थियो ।

‘उहाँहरुको लापरवाहीले गर्दा धेरै किसिमको तनावले गर्दा हिजो मेरै संयोजकत्वमा मिटिङ बसेर टिकेटिङ राइट क्यान्सिल गर्ने र केही व्यवस्था गर्ने भनेर बुधबार बिहान ८ बजेदेखि टिकट बिक्री गर्ने भनेर निर्णय गर्‍यौँ’, साफ वुमन्स च्याम्पियनसिपमा संयोजकसमेत रहेका एन्फा उपाध्यक्ष दीपक खतिवडाले भने ।

माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्टका थमन भुसाल भने इमेलमा स्पष्टीकरण मागिएकाले इमेलमै जवाफ दिएको बताउँछन् ।

‘हामीलाई इमेलमा स्पष्टीकरण सोध्नुभएको हामीले इमेलमा त्यसको जवाफ पनि पठाएका हौँ । तर उहाँहरुले पत्रकार सम्मेलन नै गरेर भौतिक रुपमा टिकट बिक्री गर्ने भन्नुभएपछि अनलाइनबाट बिक्री रोकियो’, थमनले भने, ‘हामीलाई भीआईपी टिकट रिटर्न गर भन्नुभयो । साधारणमा ४ हजार १०० टिकट बिक्री भइसकेकाले दर्शकलाई दु:ख हुन्छ भनेर त्यसलाई कायम राखौँ भन्यौँ ।’ तर टिकट फिर्ता लिन चाहेमा दिने गरी टिकटको अधिकार एन्फाले आफैं लियो ।

एन्फा उपाध्यक्ष खतिवडाले सुरुमा एन्फाले आफैं टिकट बेच्ने निर्णय भएको तर एन्फालाई केही रकम आउने भएपछि माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्टलाई दिएको बताए ।

‘८० लाखसम्म दिने मान्छे आएपछि दिऔं भनेर दियौँ । यस्तो अवस्था आउला भन्ने थाहा थिएन । अस्ति त्यो खालको व्यवहार नगरेको भए निरन्तर हुन्थ्यो’, उनले भने ।

माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्टका अध्यक्ष भुसाल भने टिकटको अधिकारसम्बन्धी सम्झौता रद्द गरेको विषयमा कानुनी परामर्शमा रहेको बताउँछन् । ‘हामी लिगल टिमसँग छलफल गरिरहेका छौँ । अब कसरी अघि बढ्ने भनेर हामी प्रेस मिट नै गर्छौं ।’

फाइनलमा ११ हजार टिकट मात्रै

एन्फा उपाध्यक्ष दीपक खतिवडाले मंगलबार पत्रकार सम्मेलन फाइनलमा ११ हजार टिकट मात्रै बेच्ने जानकारी दिएका थिए । जसमा साधारणतर्फ १० हजार र भीआईपीतर्फ १ हजार मात्र बेच्ने उनको भनाइ थियो ।

तर फाइनलका लागि भीआईपीमा १ हजार ५ सय टिकट बिक्री भइसकेको थियो र त्यो सबै टिकटको पैसा फिर्ता दिएर एन्फाले आफैँ भौतिक रुपमा बेच्ने निर्णय गर्‍यो ।

उनले ११ हजार टिकट बाहेक बाँकी टिकट बिक्री नगर्ने र त्यसमा भीभीआईपी पाहुना, पूर्व खेलाडीहरु राखिने बताए ।

लाइन लागेका दर्शकले समेत टिकट पाउन नसकेपछि काठमाडौं महानगरपालिकाले तीन स्थानमा खेलको प्रत्यक्ष प्रशारण देखाउने व्यवस्था मिलाएको छ । टुँडिखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरपालिकाले जनाएको छ ।

खेल हेर्न जाने दर्शकले हातहतियार, धुम्रपान र आगो बाल्ने सामग्री, मदिरा, ठूला झोला, हेल्मेट र सुरक्षात्मक उपकरण, प्रचार सामग्री, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने वस्तु र धातुका मुद्रा (क्वाइन) लैजान पाउने छैनन् ।

लेजर लाइट, लागुऔषध र अन्य अवैध पदार्थ, छाता, लिबिस्टिक, नेल कटर, कैँची र काइयो पनि लान पाउने छैनन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button