Main

‘हर्के हल्दार’बाट बाहिरिएका विष्णु सापकोटा नयाँ श्रृंखला ल्याउँदै

काठमाडौं । धेरैले उनलाई विष्णु सापकोटा कम र ‘हर्के हल्दार’को नामले ज्यादा चिन्छन् । उनले झण्डै १२ वर्ष ‘हर्के हल्दार’ सिरियलमा शीर्ष भूमिका निर्वाह गरे । यो श्रृंखलाले उनलाई यति चर्चा दिलायो कि, उनको आफ्नै नामसमेत ओझेलमा छ ।

सम्भवतः उनी ‘छक्कापञ्जा ५’मा देखिनेछन् । ‘छक्कापञ्जा’को पहिलो भागपछि उनी यो श्रृंखलामा फर्किएनन् । तर, यसपटक कमब्याक जुरेको संकेत उनले गरे । किनभने, उनले २५ भन्दा धेरै फिल्ममा काम गरिसकेका छन् ।

सापकोटाका फ्यानलाई उनको आगामी सिरियलबारे नयाँ खबर छ । नाम तय नभैसकेको उनको १० भागको नयाँ श्रृंखला बैशाख अन्त्यदेखि आउँदैछ । दश वटै भागको छायांकन हेटौंडा, नवलपुर र बसामाडी क्षेत्रमा छायांकन भैसकेको छ ।

आफ्नो युट्युव च्यानलबाट यो सिरियल ल्याउने उनको तयारी छ । दिवंगत निर्देशक शिव रेग्मीसँग लामो समय निर्देशन सहायकको अनुभव लिएका भद्र भुजेलले यो श्रृंखला निर्देशन गरेका हुन् । रेग्मीसँग विष्णुको पनि साइनो यसकारण छ कि, रेग्मी निर्देशित ‘आफन्त’बाट उनले फिल्ममा डेब्यु गरेका हुन् ।

यो फेमिली-ड्रामाले हेटौंडा नगरपालिका– ११ सेरोफेरोको कथा भन्छ । सिरियलको लेखक, निर्माता र शीर्ष कलाकारमा सापकोटा स्वयम छन् । ‘यो परिवारभित्रकै कथावस्तु हो’ नयाँ सिरियलबारे उनले भने । यो श्रृंखलामा लक्ष्मीनाथ तिमिल्सिना, अन्जु हमाल, सुकीर्ति खरेल, अस्मिता बस्नेत, पुष्प आचार्य र प्रेम श्रेष्ठले पनि अभिनय गर्नेछन् ।

‘अब सकेसम्म आफ्नै सिरियल खेल्ने र अरुको नगर्ने’ उनले भने, ‘अफर आएसम्म फिल्म पनि खेल्ने तयारीमा छु ।’ उनले गत महिना मधुसुधन भट्टराईको फिल्म ‘हामी तीन भाई’को छायांकन सके ।

‘हर्के हल्दार’पछि सापकोटाको सिरियल यात्रा स्थायी रहेन । त्यसपछि केही समय ‘रिटार हल्दार’मा काम गरे । एकवर्ष स्क्रिप्ट लेखनमा काम गरेका उनले त्यो छाडेपछि अर्को श्रृंखला ‘बा आमा’ बनाए । यो श्रृंखलाको १३ एपिसोडबाट छाडेपछि उनले बेगम नेपालीको ‘गाह्रो छ हो’ गरे ।

उनले अब सकेसम्म एउटै सिरियलमा टिक्ने प्रयास गर्ने बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button