अविनाशमाथि टिमलाई पूर्ण भरोसा छ : रोहित पौडेल

२२ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले तीव्र गतिका बलर अविनाश बोहरामाथि टिमलाई पूर्ण भरोसा रहेको बताएका छन् ।
त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सका साइब्रान्ड एंगेलब्रेक्टले १८ औं ओभरमा अविनाशलाई समान २ चौका र २ छक्का हानेका थिए । उनले त्यो ओभरमा २१ रन दिएका थिए ।
जबकी उनको त्यो ओभरअघि नेदरल्यान्ड्सलाई जितका लागि अन्तिम १८ बलमा ४० रन चाहिएको थियो । अविनाशको त्यो ओभरपछि नै नेदरल्यान्ड्स खेलमा हाबी बनेको थियो । नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर उपाधि जित्यो ।
अविनाशले ३ ओभरमा ३९ रन खर्चिदा १ विकेट लिएका थिए । उनलाई प्रशिक्षक मोन्टी देशाईंले डेथ ओभर विशेषज्ञका रुपमा प्रयोग गरिरहेका छन् ।
‘डेथ ओभरमा तीन ओभर बलिङ गर्नु सहज होइन कुनै पनि बलरलाई । दाइ (अविनाश)ले त्यो जिम्मेवारी लिनुहुन्छ । अविनाशमाथि टिमलाई पूर्ण भरोसा छ,’ रोहितले खेलपछि भने, ‘अहिले भएन । तर भरोसा छ आउने खेलहरुमा राम्रो गर्दछन् ।’
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ९ ओभरमा ८२-१ को अवस्थामा थियो । दशौं ओभरको दोस्रो बलमा रोहित पौडेल २५ रनमा क्याच आउट भएपछि नेपालको रनको गति घटेको थियो । नेपाल १६ ओभरमा १३७-४ को अवस्थामा थियो ।
कुशल मल्लले १७ औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा लगातार तीन छक्का हाने । नेपालले अन्य ओभरमा ठूलो रन जोड्न सकेन र २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रनको स्थितिमा रह्यो ।
‘१०–१५ रन कम भएको जस्तो अनुभव भयो । किनभने जुन हिसाबले हामीले सुरुवात पाएका थियौं । बीचमा मिडल अडरमा अलिकती स्लो डाउन भयो,’ रोहितले भने, ‘विकेट पनि गयो र रन पनि बनेन ।’
विकेट राम्रो भएका कारण नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको उनले स्पष्ट पारे ।
‘विकेट हेर्दा एकदमै राम्रो थियो । सबैसँग कुरा गर्दा राम्रो योगफल बनाउने थियो । उनीहरुलाई दबाबमा राख्नी । चेश गर्दा एउटा दबाब पनि हुन्छ । दोस्रो इनिङमा विकेट अली स्लो हुँदै जान्छ’, रोहितले टस जितेर पहिला ब्याटिङ रोज्नु बारे भने । आफूहरुले २०० रन सोचेको भए पनि त्यो पूरा नभएको उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।