अविनाशले प्रधानमन्त्री कप गुमाउने

४ माघ, काठमाडौं । एपीएफ क्लबका तीव्र गतिका बलर अविनाश बोहराले जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता गुमाउने भएका छन् ।
मधेश प्रदेशसँगको खेलमा ब्याटिङका क्रममा उनको बाँया हातको हत्केलाको एउटा हड्डी भाँचिएको हो । मधेश प्रदेशका तीव्र गतिका बलर रुपेश सिंहको बलले हातमा लाग्दा उनी केही समय मैदान बाहिर नै आएका थिए ।
४८.२ ओभरमा ब्याटर रुपेश सिंहले फर्काएको बल लाग्दा उनको हात भाँचिएको हो । उनको हाल बल्खुस्थित वयोधा अस्पतालमा शल्यक्रिया भएको एपीएफ टिमका म्यानेजर राजेश श्रेष्ठले जानकारी दिएका हुन् ।
‘उनले यो प्रतियोगिता गुमाउनेछन् । उनलाई कम्तीमा पनि एकदेखि डेढ महिना रिकभरी समय लागनेछ’, म्यानेजर श्रेष्ठले भने । अविनाशले खेल्न नसक्दा प्रधानमन्त्री कप क्रिकेटमा एपीएफलाई धक्का पुग्ने भएको छ ।
पेस बलरको रुपमा रहेका कमल सिंह ऐरी ब्याक इन्जुरीको कारण हाल टिममा छैनन् । पहिले एपीएफबाट खेल्लेका किशोर महतो अष्ट्रेलिया गएका छन् ।
अविनाशको अभाव खट्किँदा बिहीबारको खेलमा एपीएफले मधेश प्रदेशसँग ५ विकेटले पराजित भएको छ । कप्तान रोहितले अविनाशको अभाव टिममा परेको बताए ।
‘अविनाश दाइ नहुँदा अलिकति गाह्रो भयो । अब रिप्लेसमेन्टको लागि पनि सोच्नै पर्छ’, उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।