Main

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१६ पुस, काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

राष्ट्र बैंकले १७ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब तरलता खिच्ने भएको हो ।

मंगलबार ७ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत तोकेको राष्ट्र बैंकले भारित औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम हुँदा मंगलबार बैंकिङ प्रणालीबाट ७ दिनको लागि १० अर्ब रुपैयाँ खिच्ने भएको हो ।

१२ पुसमा २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा औसत ब्याजदर २.९९९२ प्रतिशत कायम गरेर ९ अर्ब २५ करोड तरलता खिचेको थियो । त्यसअघि ११ पुसमा ३५ अर्ब तरलता खिचेको थियो ।

१७ पुसमा नै १० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ । राष्ट्र बैंकले अर्को निक्षेप संकलन उपकरण बोलकबोल मार्फत उक्त १० अर्ब तरलता पुन खिच्ने भएको हो ।

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले खिचेको तरलता १ खर्ब ४ अर्ब २५ करोड रहेको छ । चालु आर्थिक वर्ष लागेपछि राष्ट्र बैंकले अहिलेसम्म कुल २ खर्ब ४१ अर्ब ५० करोड तरलता खिचेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button