Main

अपाङ्गगमैत्री भौतिक संरचना बनाउन मानव अधिकार आयोगको निर्देशन

२४ पुस, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा भौतिक संरचना अपांगतामैत्री बनाउन स्थानीय तहको सरकारलाई निर्देशन दिएको छ ।

आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अपांगतामैत्री भौतिक संरचना निर्माणमा ध्यान दिन स्थानीय सरकारलाई सचेत गराएका हुन् ।

शौचालयदेखि लिएर सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँका भौतिक संरचना निर्माणको काम अपांगतामैत्री बनाउने विषयमा पालिकाहरुले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

ढुंगेलले मानसिक सन्तुलन गुमाएका अपांगता भएकाहरुबारे पनि विशेष ख्याल राख्न सरकारको ध्यानाकर्षण गराए । त्यस काममा सरोकारवालाहरुको सुझाव पनि उत्तिकै आवश्यक रहेको उनले बताए ।

ढुंगेलले भने, ‘सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँमा भित्र प्रवेश गर्नेदेखि लिएर ट्वाईलेट युज गर्नेसम्म व्यवस्थामा पनि कति हामीले अपांगतामैत्री व्यवस्था गरेका छौं त ? त्यो हेरेका छौ कि छैनौं ? त्यो नगरपालिकाको सेवा प्रवाह गर्ने घरहरुमा ट्वाईलेट कस्तो छ भनेर हेरेको छ कि छैन ? त्यो ट्वाईलेट अपांगतामैत्री बनाउने कुरा ठूलो सेवा हुनसक्छ । यस्ता कुराहरुमा पनि हामीले ध्यान दिनुपर्छ । र, मानसिक सन्तुलनलगायतको विषयमा पनि धेरै कुराहरु छन् । त्यसमा ध्यान दिएर अघि बढ्न आवश्यक छ ।’

कार्यक्रममा बोल्दै अपांगता राष्ट्रिय निर्देशन समितिकी विज्ञ प्रतिमा गुरुङले अपांगता भएकाहरुको परिचय पत्र मानव अधिकारलाई मुख्य आधार बनाएर वितरण गर्न सरकारसँग माग गरिन् । उनले अपांगता भएका व्यक्तिहरुको वर्गीकरणमा पनि गम्भिर बन्न सरकारलाई सुझाव दिइन् ।

उनले भनिन्, ‘अपांगता भएका व्यक्तिको परिचयपत्र अझै पनि मेडिकल मोडल अप्रोजमा छ । निष्कर्ष सुझावको पहिलो ढाँचामा नै त्यो परिचय पत्र ह्युमन राईट्स बेस अप्रोचमा गर्नोस् भनेर सुझाव दिइएको छ । हामीले त्यसलाई हेर्नुपर्‍यो । अपांगताको सवाल सजिलो पनि छैन । यो संवेदनशील पनि छ, जटिल पनि छ । र, यो परिवर्तित अवस्थामा पनि हो ।’

गुरुङले मानव अधिकार आयोगले अपांगता भएका व्यक्तिहरुको समस्यालाई सम्बोधन गराउने काममा विशेष भूमिका खेल्नुपर्ने समेत बताइन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button