Main

आईडीए बैठक नेपालमा राखेकोमा सरकारले दियो विश्व बैंकलाई धन्यवाद

३ असार, काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को बैठक नेपालमा आयोजना गरेकोमा नेपाल सरकारले विश्व बैंकलाई धन्यवाद ज्ञापन गरेको छ ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले बैठक नेपालमा आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका हुन् ।

ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो  रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।

भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र  मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए ।

आकी विश्व बैंकको विकास वित्त (डीएफआई) परिचालन र  र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् ।

विश्व बैंक समूहका उच्च अधिकारीहरूको काठमाडौँमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताएका छन् ।

बैठक भव्य रुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिवद्धता अर्थमन्त्री पुनको थियो ।

विश्व बैंकसँग नेपालको ६ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे ।

मन्त्री पुनले पाइपलाइनमा रहेका दुई ठूला जलविद्युत् आयोजना माथिल्लो अरुण र दूधकोशी निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको उनले सराहना गरे ।

उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै उनले वित्तिय व्यवस्थापनको टुंगो छिट्टै लाग्ने विश्वास व्यक्त गरे ।

सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसीडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे ।

उनले २१औं आईडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे ।

फरक प्रसंगमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे ।

जवाफमा विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए ।

नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button