Main

आउने दशैंमा रोहित अधिकारीको ‘माइतीघर’ पनि रिलिज हुने

काठमाडौं । निर्माता रोहित अधिकारीले नयाँ फिल्म ‘माइतीघर’ बनाउने घोषणा गरेका छन् । सोमबार फिल्मको लोगो सार्वजनिक गर्दै उनले यो सोसल ड्रामा फिल्मलाई आउँदो दशैंमा प्रदर्शन गर्ने जनाएका हुन् ।

मिलन तामाङको डेब्यु निर्देशन रहने फिल्मको पटकथा ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले लेखेका हुन् । निर्देशक तामाङले फिल्मको औपचारिक अध्ययन सकेर निर्देशनमा होमिन लागेका हुन् ।

फिल्ममा अहिले चलेका स्टारलाई कास्ट गर्ने जानकारी निर्माता अधिकारीले दिए । केही सातामा कलाकारको टुंगो लाग्ने र फागुन वा चैतदेखि छायांकनमा जाने तयारी छ । फिल्मले विवाहपछि छोरीले माइतीघर छाडेर जानुपर्ने विवशता र यसको आयामलाई प्रस्तुत गर्ने जनाइएको छ ।

‘समसामयिक कथावस्तु भएकाले पनि यसलाई दशैंमा ल्याउन लागेका हौं’ निर्माता अधिकारीले भने, ‘महिलाप्रधान भएकाले यसले सामाजिक सन्दर्भ र संवेदनालाई चित्रण गर्नेछ ।’ यो मल्टिस्टारर फिल्मको स्क्रिप्ट सुहाउने भएकाले ‘माइतीघर’ नाम राखिएको उनले जनाए ।

रोहित अधिकारी फिल्म्सको ब्यानरमा यसअघि गाजलु, छ माया छपक्कै र फर्की फर्की निर्माण भैसकेका छन् । आउने दशैंमा फिल्मको भीड हुने देखिएको छ । माइतीघरसहित दीपकराज गिरी, १२ गाउँको टोली, सुशिल पोखरेल, अशोक शर्मा, भुवन केसी लगायतको फिल्म आउने चर्चा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button