आधारभूत अस्पतालका लागि उपकरण खरिद गर्ने स्वास्थ्यमन्त्रीको योजना

२२ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तराष्ट्रियस्तरको स्वास्थ्य सम्मेलन आयोजना गर्ने प्रस्ताव अगाडि बढाएको छ । २५ चैतमा हुने अन्तराष्ट्रिय स्वास्थ्य दिवसको अवसर पारेर अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने प्रस्ताव अगाडी बढाएको स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
कान्ति बाल अस्पतालको ६२औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बस्नेतले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि अन्तराष्ट्रिय सम्मेलन गरेर आर्थिक सहयोग जुटाउनका लागि अपिल गरिने बताए ।
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सम्मेलन आयोजना गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा समेत राखिसकेको बताए ।
‘विकास साझेदार संस्था, सबै शुभेच्छुक दातृ निकायलाई बोलाएर रंगशालमा अन्तराष्ट्रिय सम्मेलन गरौं । हाम्रो स्वास्थ्य क्षेत्रको स्वास्थ्यमा भएका काम, चुनौती र गर्नसक्ने कामको बारेमा बताऔं,’ मन्त्री बस्नेतले भने, ‘त्यसबाट अबौं पैसा उठ्न सक्छ । उठेको पैसाले उपकरण खरिद र भवन निमार्ण गरौं ।’
तर मन्त्री बस्नेतले आधारभूत अस्पतालका लागि कर्मचारीको न्यूनतम दरबन्दीको व्यवस्थापन चाहिँ सरकार आफैंले गर्नुपर्ने जिकीर गरे ।
महिनाको तीन लाख रुपैयाँ तलब दिंदा पनि दुर्गममा सेवा दिन जान इच्छा भएको डाक्टर नभेटिने गरेको मन्त्री बस्नेतले सुनाए ।
‘महिनाको ३ लाख रुपैयाँसम्म तलब दिंदा पनि दुर्गमा सेवा दिन जान इच्छा भएको चिकित्सक तथा स्वास्थ्यकर्मी भेटिदैन्,’ उनले भने, ‘सब जना सुगम मात्रै ताक्नु हुन्छ । म आएपछि मात्रै ८ सय जनाको काज फिर्ता गरेको छु ।’
चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी नपाइने अवस्था आउने उनको तर्क थियो ।
‘चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ बर्षमा नेपालमा डाक्टर, नर्स नै नपाउने जोखिम बढेको छ । त्यसैले अब जसरी पनि चिकित्सा शिक्षा ऐनको केही व्यवस्था संशोधन गर्नुपर्ने अवस्था आएको छ’ मन्त्री बस्नेतले भने ।
यस्तै सरकारले अब डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने योजना समेत सुनाए । बस्नेतले खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताएका हुन् ।
‘हामीले विदेश पठाउने नै नेपाली ३० हजार खानलाई खाडीमा किन पठाउने? डाक्टरले १८, २० लाख पाउँछ, नर्सिङ जसले ८, १० लाख महिनाको लिन सक्नुहुन्छ । धेरै डाक्टर, नर्स पढाउँदा ठूलो स्रोत आउँछ । इज्जत,सम्मान मान, प्रतिष्ठा हुन्छ,’ मन्त्री बस्नेतले भने, ‘त्यसकारणले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्छ । यसका लागि हामीले कदम पनि अगाडि सारेका छौ ।’
मन्त्री बस्नेतले सरकारी अस्पतालमा १०० देखि ३०० वेडका अस्पतालमा नर्सिङ र पारामेडिक्स र ३०० वेडभन्दा माथिका अस्पतालमा एमबीबीएस अध्ययन गराउन दिने व्यवस्था लागू गर्न चिकित्सा शिक्षा आयोगलाई समन्वयका लागि पत्र लेखिसकेको पनि जानकारी दिए ।
मन्त्रिपरिषद्, विभिन्न दलका नेता, सभामुख तथा आफ्नै दलको पार्टी सभापति सामु पनि उक्त कुरा गरेको भन्दै सबैले नेपाललाई चिकित्सा शिक्षाको हब बनाउनुपर्ने कुरा राखेको उनको भनाई थियो ।
‘मन्त्रिपरिषद्मा यस विषयलाई राखेको छु । संसदबाटै पास गर्नुपर्ने भएकाले सम्माननिय सभामुख ज्युलाई पनि राखे । पार्टीका सभापति शेरबहादुर देउवाज्युलाई पनि यो कुरा राखेको छु,’ उनले भने, ‘सबैको एउटै स्वर छ नेपाललाई चिकित्सा शिक्षाको हब बनाऔं, सबैको एक स्वर छ ।’
४ करोड बरावरको निःशुल्क सेवा
आइतबार कान्ति अस्पताल स्थापना भएको ६२ वर्षको अवसरमा आयोजित समारोहमा अस्पतालका निर्देशक डा. पंकज रायले गत आर्थिक वर्षमा अस्पतालले ४ करोड बराबरको निःशुल्क सेवा दिएको बताए ।
अस्पतालको तथ्यांक अनुसार एक वर्षमा १ लाख ९९ हजार २ सय ५६ जनाले सेवा लिएका छन् । जसमध्ये १ लाख ४६ हजार २ सय ४९ जनाले बहिरंग सेवा र ५३ हजार ७ जनाले आकस्मिक सेवा लिएका थिए ।
उपचारमा आएकामध्ये १ सय ८५ जना बालबालिकाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । आर्थिक वर्ष ७९/८० मा २ हजार ८ सय ४२ जनाको शल्यक्रिया भएको छ । जसमा ७ सय २४ जनाको गम्भीर किसिमको शल्यक्रिया भएको ८ सय १९ जनाको मध्यम खालको र ९ सय ३९ जनाको सामान्य शल्यक्रिया भएको डा. रायले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।