आम्दानी बढेसँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा दुई गुणा बढ्यो

२१ वैशाख, काडमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा दुई गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ५९ करोड ७१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २८ करोड ४८ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी, लगानी तथा लोनवापतको आम्दानी बढ्दा नाफा उल्लेख्य बढेको हो । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म खुद प्रिमियमवापत १ अर्ब ३२ करोड आम्दानी गरेको छ । पहिले यस्तो आम्दानी ५५ करोड ६९ लाख रुपैयाँ थियो । त्यस्तै लगानी तथा लोन प्रदान गरेवापतको आम्दानी ३० करोडबाट बढेर ५२ करोड पुगेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३७ पैसा छ भने प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ५९ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७३० रुपैयाँ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।