Main

आर्टमाण्डुको फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ मा रिलिज हुने

काठमाडौं । विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ गते रिलिज हुने भएको छ । सोमबार निर्माताले फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।

यसअघि नै सार्वजनिक फर्स्टलुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित थिए । सोमबार सार्वजनिक पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ । साथै, पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ । ‘ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ ।

आर्टमाण्डु प्रालिले निर्माण गरेको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहान हुन् । आर्टमाण्डुले यसअघि निर्माण गरेका थुप्रै म्युजिक फिल्म लोकप्रिय छन् । फिल्ममा विपिन र मिरुनाका साथै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, भावना खपाङ्गी मगर लगायत कलाकारको समेत अभिनय छ ।

फिल्मको लेखन निर्देशक चौहान र सुरज कटुवालले गरेका हुन् । छायाङ्कन पाँचथर र नेपाल भारत सीमाना फालेलुङमा गरिएको छ ।

फिल्ममा सङ्गीत निर्देशन सुजन चापागाईं र ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले गरेका छन् । गीत रचना हर्क साउद र युवराज काफ्लेले गरेका छन् । चिन्तन राजभण्डारीले फिल्मलाई खिचेका हुन् भने रोशन विक र डिप गुरुङले कोरियोग्राफी गरेका छन् ।

‘ऊनको स्वीटर’को एसोसिएट निर्माता केन्द्र मोसन पिक्चर्स हो भने सहनिर्मातामा साहाङ चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने छन् । कार्यकारी निर्माता सागर बुढाथोकी र मिलन खत्री छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button