Main

हवाई सुरक्षामा भ्रम फैलाउने काम भयो : वायुसेवा सञ्चालक

१५ साउन, काठमाडौं । निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई सुरक्षामा अनावश्यक टिकाटिप्पणी गरी भ्रम फैलाउने काम भएको भन्दै आपत्ति जनाएको छ ।

संघ अध्यक्ष मनोज कार्कीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका काम कारबाहीबारे सीमित स्वार्थपूर्ति गर्न नकारात्मक टिकाटिप्पणी बढेको दाबी गरिएको छ ।

९ साउनमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि नेपालमा हवाई सुरक्षालाई लिएर गम्भीर चासो उठिरहेको छ ।

यसै सन्दर्भमा आएका टिप्पणीप्रति संघले आपत्ति जनाएको हो । दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्तो अवस्था व्यक्ति, संस्था वा नियमनकारी निकायको चाहनामा नहुने समेत संघको भनाइ छ ।

कसैको नियन्त्रणमा नहुने दुर्घटनालाई आधार बनाइ वायुसेवा कम्पनी, हवाई सुरक्षा र प्राधिकरणप्रति भइरहेको टिकाटिप्पणीमा गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । संघले हवाई सुरक्षामा सबै पक्ष गम्भीर रहेको समेत दाबी गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button