फुटबलर काभानीले लिए सन्यास

१८ जेठ, काठमाडौं । उरुग्वेका स्ट्राइकर एडिनसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट बिहीबार सन्यास घोषणा गरेका छन् ।
उरुग्वेका प्रशिक्षक मार्सेलो बिएस्लाले जुनमा अमेरिकामा हुने कोपा अमेरिकामा कभानीलाई राष्ट्रिय टिममा समावेश गरेको अवस्थामा काभानीको सन्यास घोषणालाई आश्चर्यजनक रूपमा लिइएको छ ।
काभानीले सन्यास घोषणा गर्दै देशको जर्सी लगाएर खेल्न पाउँदा खुसी लागेको बताएका छन् ।
‘संसारमै मलाई सबैभन्दा मनपर्ने मेरो देशको जर्सी लगाएर प्रतिनिधित्व गर्न पाउँदा म एकदमै आभारी छु,’ ३७ वर्षीया काभानीले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘मैले अन्तर्राष्ट्रिय खेलबाट अलग हुने निर्णय गरेको छु, तर म टोलीलाई सधैं पछ्याउँछु ।’
उरुग्वे फुटबल संघले पनि सामाजिक सञ्जाल एक्समा काभानीले सन्यास घोषणा गरेको पुष्टि गर्दै उनलाई धन्यवाद दिएको छ ।
‘एडिसन काभानीले १३६ अन्तर्राष्ट्रिय खेल, चार विश्वकपमा सहभागिता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि सन्यासको घोषणा गरेका छन्,’ उरुग्वेयन फुटबल संघ (एयूएफ) ले एक्समा पोस्ट गरेको छ, ‘सबै कुराको लागि धन्यवाद । यु आर लेजेन्ड ।’
काभानी हाल अर्जेन्टाइन क्लब वोका जुनियर्सबाट खेलिरहेका छन् । जहाँ उनले १८ खेलमा १२ गोल गरेका छन् ।
भेट्रान स्टारइकर काभानीले युरोपका शीर्ष क्लबहरू नापोली, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड लगायत क्लबबाट खेलिसकेका छन् ।
उनले सन् २००५ मा उरुग्वेको दानुवियो क्लबबाट क्लब फुटबल करियर सुरु गरेका थिए ।
काभानीले सन् २००८ मा कोलम्बियाविरुद्ध डेब्यु गरेका थिए । २–२ को बराबरीमा सकिएको उक्त खेलमा उनले गोलसमेत गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।