इरान बम विस्फोटमा ७३ जनाको मृत्यु

१८ पुस, काठमाडौं । इरानका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा लगातार दुई वटा विस्फोट हुँदा ७३ जनाको मृत्यु भएको छ । एक सय भन्दा बढी घाइते भएका छन् ।
सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा सुलेमानीको शव गाडिएको छ ।
बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा भएको उनको हत्याको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू भेला भएका बेला विष्फोट भएको थियो ।
इरानको समाचार एजेन्सी तस्निमले भनेको छ, ‘बमले भरिएका दुईवटा ब्यागमा विस्फोट भयो, यो घटनाका अपराधीहरूले रिमोट कन्ट्रोलमार्फत बम विस्फोट गराएको देखिन्छ ।’
सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतंकवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो ।
लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गराएको आरोप लगाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।