इलाम २ मा भेषराजले टिकट पाउनुपर्थ्यो भन्दै स्वर्णिमले कांग्रेसलाई सोधे प्रश्नैप्रश्न

१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफूले विगतमा काम गरेको पार्टी नेपाली कांग्रेसबारे बोल्नलाई इलामको उपचुनावी माहोल छाने ।
उनले नेपाली राजनीतिमा आफ्नो रोलमोडल व्यक्ति वीपी कोइराला नै भएको बताए।
१५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनको चुनावी सभामा वाग्लेले कांग्रेसका संस्थापक नेता वीपी आफ्नो रोलमोडल व्यक्ति भएको बताएका हुन् । ‘म पनि वीपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि नेपाली राजनीतिमा मेरो रोल मोडेल वीपी कोइराला नै हुनुहुन्छ’, उनले भने ।
कांग्रेसका स्थापनाकालीन नेताहरुको उद्देश्य अनुसार क्रियाशील नभएकोसमेत वाग्लेले आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेसका साथीहरु यहाँ हुनुहुन्छ । थोर बहुत परिचय हाम्रो पुरानै हो’, कांग्रेसलाई वाग्लेले प्रश्न गरे, ‘के वीपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ यहाँ?’
इलाम–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको वाग्लेले बताए । तर, आचार्य पक्षले लिएको विचार पार्टीमा बिलाउने अवस्थामा रहेको उनको आरोप थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई संकेत गर्दै उनले भने, ‘अर्को प्रवृत्ति छ । ८० प्रतिशत जति कब्जा त्यो गुटले गरेको छ । विकृत, भ्रष्ट, निकम्मा समूहका रुपमा पनि यहाँ उम्मेदवार बनाइएको छ ।’
योग्य व्यक्तिले टिकट नपाउने पार्टीसँग आशा गर्न नहुने उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।