उपचारमा सहयोग गर्न भजन गायक विक्रमश्रीको अपील
काठमाडौं । चर्चित भजनगायक तथा संगीतकार विक्रम श्री (यादव बास्तोला)ले जीवनरक्षाका लागि अपील गरेका छन् । कलेजोको क्यान्सरबाट पीडित उनले उपचारका लागि खर्च अभाव भएकाले आर्थिक सहयोग गर्न अपील गरेका हुन् ।
भारतको गुजरातमा उपचार गराएर केही समयअघि मात्रै फर्किएका उनलाई थप उपचारका लागि रकम अभाव भएको भजन गायिका समेत रहेकी उनकी श्रीमती जानुका बास्तोलाले बैंक खातमार्फत सकेको सहयोग गरिदिन आग्रह गरेकी छन् ।
विक्रमश्रीका भतिजा नाता पर्ने पत्रकार प्रेम बास्तोलाका अनुसार डेढ महिनाअघि भारत जलपाईगुडीको डुवर्समा आयोजित महापुराणमा भजन कार्यक्रमका लागि जाँदा उनलाई ज्वरो आएको थियो । ‘डेढ महिनाअघि कार्यक्रममा सहभागी हुन डुवर्स जाँदा काकालाई ज्वरो आएको थियो । औषधि खाँदा पनि ठीक नभएपछि लक्ष्मीमार्गस्थित घर आएर रेस्ट गर्नुभयो, तैपनि ज्वरो ठीक भएन’, उनले भने, ‘उहाँको ६ वर्षअघि मुटुको अपरेसन भएको थियो । त्यसैकारण हो कि भनेर अहिले चेक गराउँदा कलेजोको क्यान्सर देखियो ।’
अहिले विक्रमश्रीले औषधि खाइरहेको र त्यो एक महिनाका लागि मात्रै पुग्ने अवस्था रहेको बास्तोलाले जनाए । पुन: उपचारका लागि फेरि दिल्लीमै जानुपर्ने तर त्यसका लागि घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च अभाव भएको उनले बताए ।
मोरङको बेलबारी नगरपालिका–११, लक्ष्मीमार्ग निवासी विक्रमश्री ३० वर्षदेखि नेपाली संगीतमा सक्रिय छन् । भजनका साथै उनका सुगम संगीत र राष्ट्रप्रेमका गीत समेत छन् । धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्, तिरिरी बज्दैछ श्यामको बाँसुरी, हरि भजनमा लाग्यो मेरो मन, धेरै बित्यो यात्रा जीवनको, ए कृष्ण मेटाइदेऊ न मनको तृष्णा लगायत थुप्रै भजन चर्चित छन् । उनले संगीत गरेका गीतहरुमा प्रमोद खरेल र हिमाल सागरले समेत स्वर दिएका छन् ।
रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रबाट स्वर परीक्षा पास गरेका विक्रमश्री आधुनिक गीत लेखन, गायन र संगीतमै पूर्वाञ्चल प्रथम समेत भए । उनले माओवादी द्वन्द्वकालमा जनवादी गीतहरु समेत सिर्जना गरेका थिए ।
विक्रमश्रीका लागि इच्छुक दाताले ग्लोबल आईएमई बैंक, डाँगीहाट शाखाको खाता नम्बर २२३०७०१०००३९५१ मा सहयोग रकम पठाउन सक्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।