आर्सनलको फराकिलो जित, सिटी ३ गोल अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो
१२ मंसिर, काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनलले फराकिलो जित निकालेको छ । आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ को फराकिलो अन्तरले हराएको हो ।
आर्सनलको जितमा गाब्रियल मार्टिनेली, काई हाभेर्ट्ज, गाब्रियल माघालास, बुकायो साका र लियान्द्रो ट्रोसार्डले एक-एक गोल गरे । स्पोर्टिङका गोन्सालो एनासियोले एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । २२औं मिनेटमा हाभेर्ट्जले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा गोल माघालासले गोल गर्दै पहिलो हाफमा आर्सनललाई ३-० ले अगाडि राखे ।
दोस्रो हाफको ४७औं मिनेटमा इनासियोले गोल गर्दै खेलमा फर्काउन प्रयास गरे तर त्यसपछि स्पोर्टिङले गोल थप्न सकेन । ६५औं मिनेटमा पेनाल्टीमार्फत साकाले गोल गर्दै आर्सनलको अग्रता बढाए । ८२औं मिनेटमा ट्रोसार्डले गोल गर्दै ५-१ को जित पक्का गरे ।
यो जितसँगै च्याम्पियन्स लिगमा आर्सनलको ५ खेलमा १० अंक भएको छ । स्पोर्टिङको पनि समान खेलबाट समान अंक छ ।
सिटी बराबरीमा रोकियो
गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । ३-० अग्रतालाई अन्तिमसम्म जोगाउन नसक्दा सिटीले फेयनोर्डले अंक बाँडेको हो ।
पहिलो हाफमा १-० को अग्रता लिएको सिटीले दोस्रो हाफको ५०औं र ५३औं मिनेटमा गोल गर्दै ३-० को अग्रता बनाएको थियो । तर त्यसपछि फेयनोर्डले ७५औं, ८२औं र ८९औं मिनेटमा गोल फर्काउँदै सिटीलाई बराबरीमा रोकेको हो ।
बराबरीपछि लिगमा सिटीको ५ खेलमा ८ अंक छ । फेयेनोर्डको ७ अंक छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।