Main

एकीकृत समाजवादीले तोकेन उमेर हद

१५ माघ, काठमाडौं । एकीकृत समाजवादीले पार्टीमा उमेर हद नराख्ने निर्णय गरेको छ । यससँगै अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललाई आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको केन्द्रीय परिषद् बैठकले पार्टीको विधानमा गर्ने संशोधनहरु पारित गरेको छ ।

पार्टीको महाधिवेशन तयारीसँगै एकीकृत समाजवादीमा उमेर हदको बहस सुरु भएको थियो । एमालेमा नवौं महाधिवेशनदेखि ७० वर्षे उमेर हद लागू भएको थियो । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको विधानमा उमेर हदबारे केही बोलिएको थिएन ।

तर माघ १४–१८ को पूर्वनिर्धारित महाधिवेशन नजिकिएसँगै उमेर हदको विषय प्रवेश पायो । किनकी खनाल ७३ वर्ष भइसकेका छन् भने माधव नेपालले २३ फागुनमा ७० वर्ष पूरा हुनेछन् । त्यसैले खनालले केही समयपछि महाधिवेशन होस् भन्ने चाहेका थिए भने अध्यक्ष नेपाल निर्धारित समयमै गर्न चाहेका थिए ।

पुसमा ७० वर्षे उमेर हद नराख्ने प्रस्तावसँगै महाधिवेशन जेठका लागि सारिएको छ । नेताहरुको सहमतिअनुसार केन्द्रीय परिषद् बैठकले उमेर हद नराख्ने निर्णय गरेको छ । अब खनाल र नेपाल दुबैका लागि फेरि अध्यक्षमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button