एक सातादेखि बन्द जनकपुरका निजी विद्यालय भोलिदेखि खुल्ने
१० मंसिर, जनकपुरधाम । एक सातादेखि बन्द जनकपुरधामका निजी विद्यालयहरू भोलिदेखि खुल्ने भएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा आज भएको जनकपुरधाम उपमहानगरपालिका, विद्यालय संचालक संगठन, आन्दोलनरत्त विद्यार्थी, नागरिक समाजको अगुवाको बैठकबाट विद्यालय खोल्ने सहमति भएको हो ।
एक महिनाभित्र समस्या समाधान गर्नेगरी मंगलबारदेखि निजी विद्यालय संचालन हुने जनकपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष मनोजकुमार साहले जानकारी दिए ।
जसका लागि उपमहानगरपालिकाको नेतृत्वमा ७ सदस्य छात्रवृत्ति सम्बन्धि कार्यविधि समिति बनाएर एक महिनाभित्र समस्या समाधाम गर्ने सहमति भएको नागरिक समाजका अगुवा निर्मल चौधरीले बताए । उनका अनुसार समितिमा आन्दोलनरत निजी विद्यालयका संगठनहरू हिसान प्याब्सन, एनप्याब्सन, आन्दोलनरत विद्यार्थी, शिक्षाविद् लगायत रहने सहमति भएको हो ।
संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिकाले १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने मागसहित हिसान, प्याब्सन र एनप्याब्सनले गत मंसिर ३ गतेदेखि अनिश्चितकालिन पठनपाठन बन्द गरेको थियो ।
उपमहानरपालिकाको निर्णय अनुसारको शुल्कमा पढाउन नसकिने बताउँदै संगठनहरूले यसअघि १३ भदौ २०८१ मा उपमहानगरपालिकाको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णयनुसार नै लिन पाउनुपर्ने माग गरेको छ ।
यता उपमहानगरको पछिल्लो छात्रवृति सम्बन्धि निर्णय संस्थागत विद्यालयहरुले लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरू समेत आन्दोलित भएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।