Main

एक सातादेखि सुनमा दैनिक नयाँ रेकर्ड, यसकारण बढिरहेको छ भाउ

११ असोज, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ७ सयमा सुनको कारोबार भएको थियो ।

विगत एक सातादेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आइतबार १ लाख ५८ हजार ८००, सोमबार १ लाख ५९ हजार २००, मंगलबार १ लाख ५९ हजार ७००, बुधबार १ लाख ६० हजार ४०० र बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यतिबेला सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि नेपालमा प्रभाव परेको हो । ‘दशैं, तिहार वा यहाँका अरु चाडपर्वसँग सुनको कुनै सम्बन्ध हुँदैन, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ बढेको हो’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

अन्तर्राष्ट्रिय बजारमा भने यतिबेला मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको घट्दो ब्याजदरले माग बढाउनु हो । सुनको भाउ बढ्नुमा बारम्बार एकपछि अर्को अन्तर्राष्ट्रिय कारण निम्तिरहेको शाक्य बताउँछन् । युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।

‘अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व बढ्दा सुनको मूल्य बढ्दै गयो, ती द्वन्द्व अहिले पनि कायमै छन्,’ शाक्यले भने, ‘त्यसमा पनि विश्वका केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाए, अहिले अमेरिकाले ब्याजदर घटाउँदा फेरि लगानी पनि सुनतिरै मोडियो ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button