सलमानलाई १५ दिनमा चौथो धम्की, कडा सुरक्षाबीच ‘सिकन्दर’को छायांकनमा
काठमाडौं । बलिउड अभिनेता सलमान खान लगातार धम्की खेपिरहेका छन् । बिहीबार राति पनि लरेन्स बिश्नोई समूहको ग्याङबाट उनलाई धम्की आयो ।
एक गीतलाई लिएर धम्की आएको जनाइएको छ । रिपोर्टका अनुसार सन्देश पठाउनेले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा चिनाएको थियो । धम्कीमा एक गीत उल्लेख गरिएको छ, जसमा सलमान खान र लरेन्सको नाम जोडिएको छ ।
धम्कीमा लेखिएको छ– लेखकले अब गीत लेख्न सक्नेछैनन् । एक महिनाभित्र कारवाही हुन्छ । सलमानमा हिम्मत छ भने बचाऊ ।’
पछिल्लो १५ दिनमा सलमानलाई चौथो पटक धम्की आएको हो । मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । नोभेम्बर ४ मा मुम्बईको ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा सलमानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिण सिकार मामिलामा माफी माग्न वा ५ करोड रुपैयाँ दिनुपर्ने लेखिएको थियो ।
यदि माफी नमागे ज्यान मार्ने धम्की दिइएको थियो । यस मामिलामा कर्नाटकबाट धम्की पठाउने व्यक्तिलाई पक्राउ गरिएको छ । अभियुक्तको नाम विक्रम रहेको बताइएको छ ।
अक्टोबर ३० मा सलमानलाई अर्को धम्कीपूर्ण सन्देश पठाएको आरोपमा ५६ वर्षीय आजम मोहम्मद मुस्तफा पक्राउ परेका थिए । मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सन्देश पठाइएको थियो । म्यासेजमा सलमानले २ करोड नदिए मारिने बताइएको थियो ।
अक्टोबर २५ मा एनसीपी नेता बाबा सिद्दिकीका छोरा जिशानको कार्यालयमा २ करोड रुपैयाँ माग्ने सन्देश पनि पठाइएको थियो । सलमान र जिशानले पैसा नदिए मारिने भनिएको थियो । यस मामिलामा मुम्बई पुलिसले नोएडाबाट २० वर्षीय मोहम्मद तय्यबलाई पक्राउ गरेको थियो ।
धम्कीका बीच सुटिङका लागि हैदरावाद
अहिले सलमान पछिल्लो फिल्म ‘सिकन्दर’को छायांकनमा व्यस्त छन् । ज्यान मार्ने धम्कीका बीच उनी सुटिङका लागि हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा पुगेका हुन् । उनको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था छ ।
ताज फलकनुमा दरबारलाई आकर्षक बत्तीले सजाइएको थियो । फिल्मको टोली एक दिनअघि नै होटल पुगेको छ । सुटिङको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यही ठाउँमा सलमानकी बहिनी अर्पिता खानको विवाह भएको थियो ।
बाबा सिद्दिकीको हत्यापछि बढाइयो सुरक्षा
एनसीपी दलको अजित पवार गुटका नेता र महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको १३ अक्टोबरको राति गोली हानी हत्या गरिएको थियो । लरेन्स ग्याङले यसको जिम्मेवारी लिएको छ । सिद्दिकी निकट अभिनेता सलमानको सुरक्षा बढाइएको छ । उनलाई वाई प्लस सुरक्षा दिइएको छ ।
१४ अप्रिलमा सलमानको घर ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली चलाइएको थियो, त्यसयता सलमान कडा सुरक्षामा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।