एनआईबीएल स्टेबल फन्डमा १ करोड ४४ लाख इकाइको आवेदन रद्द

१६ माघ, काठमाडौं । एनआईबीएल स्टेबल फन्ड (बन्दमुखी योजना)को इकाइ खरिदका लागि परेको ठूलो परिमाणको आवेदन रद्द भएको छ । आवेदनका लागि मंगलबार १ दिनको अवधि बाँकी रहँदै गर्दा सोमबार साँझसम्म ४१ हजार ४६५ जना आवेदकहरुद्वारा १० करोड ५ लाख ९६ हजार ४८० इकाइ खरिदका लागि आवेदन प्राप्त भएको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार उक्त आवेदनमध्ये ४ हजार ६३९ आवेदकद्वारा माग भएको १ करोड ४४ लाख ९१ हजार ८०० इकाइ आवेदन रद्द भएको हो । पर्याप्त बैंक मौज्दात नहुने, दोहोरो आवेदन पर्नेजस्ता कारणबाट आवेदन रद्द हुने गरेको छ । यस योजनामा मंगलबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
एनआईएमबी एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेगरी अंकित मूल्य १० का दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ ‘एनआईबीएल स्टेबल फण्ड’ जारी भएको हो ।
माघ २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएकोमा सोमबार साँझासम्म प्राप्त विवरण अनुसार ८ करोड ६१ लाख इकाइको लागि परेको आवेदन मात्रै स्वीकृत भएको छ । अनलाइन प्रणाली ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो खाता रहेको बैंक तथा वित्तिय सस्थाबाट समेत आबेदन दिन सकिनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।