उद्घाटन नहुँदै बाढीमा बगे रोशी गाउँपालिकाका ‘गौरवको आयोजना’
८ कात्तिक, काठमाडौं । रोशी गाउँपालिकाले ‘गौरव’ मानेका तीन आयोजना उद्घाटन नहुँदै असोज दोस्रो साता अविरल वर्षापछि आएकोको बाढीले बगाइदिएको छ ।
रोशी गाउँपालिका वडा नं १ मा तयार भएको १० शय्याको आधारभूत अस्पताल भवन, वडा नम्बर ११ मा रहेको डम्फु जीवन्त संग्रहालय र रोशी औद्योगिक ग्रामको प्रशासनिक भवन, भवनमा बनेको शीतभण्डार र ग्रामको कम्पाउण्डमा बनेको खानेपानी आयोजना बाढीले बगाएको रोशी गाउँपालिकका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
तामाङ जातिको विशेषता झल्कने डम्फु जीवन्त संग्रहालयसहितको पार्क समेत रोशी खोलाले बगाइदिएको छ । पालिकाका तत्कालीन अध्यक्ष डीबी लामाको पालामा सुरु भएको रोशी गाउँपालिका-११, कालढुंगामा रहेको संग्रहालयसहितको पार्क तामाङ जातिको रहनसहन, भेषभूशा, संस्कृति, रीतिरिवाज तथा तामाङ जातिको जनजीवनमा प्रयोग हुने सामग्री र तामाङ भाषाका पुस्तक रहने गरी निर्माण गरिएको थियो ।
निर्माण सम्पन्न भएको ९ डायमिटरको डम्फु, संग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा बाढीले बगाइदिएको छ । करिब १४ करोड रुपैयाँ लागत अनुमान भएको संग्रहालय भवन निर्माणमा नेपाल सरकार ५ करोड तथा रोशी गाउँपालिका ३८ लाख ६९ हजार गरी हालसम्म पाँच करोड ३८ लाख ६९ हजार खर्च भइसकेकोछ । यो पटक स्थानीय पालिकाले पार्कको लागि ५ लाख रुपैया विनियोजन गरेको थियो ।
संघीय सरकारको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ कार्यक्रम अन्तर्गत रोशी गाउँपालिका-१ खहरेपाँगुमा निर्माणधीन दश शय्याको अस्पताल निर्माण करिब अन्तिम चरणमा थियो । अस्पताल निर्माणाधीन अवस्थामै रोशीखोलाको बाढीले बगायो ।
२०८१ जेठ मसान्तभित्र अस्पताल निर्माण सम्पन्न गर्न १३ चैत २०७७ मा सगुन धुलिखेल जेभीसँग सम्झौता गरिएको थियो । निर्माणमा केही ढिलाइ भएपछि आगामी पुस मसान्तसम्म म्याद थप गरी बाँकी कामहरु भइरहेको थियो ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत ६ करोड ५ लाख २४ हजार रुपैयाँ लागतमा बनेको अस्पताल हस्तान्तरणको पर्खाइमा थियो । हालसम्म ५ करोड ६ लाख खर्च भइसकेको छ । निर्माणको अन्तिम चरणमा रहेको अस्पताल भवन रोशी र खहरेपाँगुमा रहेको खहरे खोलाको बढीले बगाएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए ।
रोशी गाउँपालिका वडा नं ११, कालढुंगामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ । संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामको लागि नेपाल सरकार उद्योग मन्त्रालयको १ करोड ६८ लाख र रोशी गाउँपालिकाको ५४ लाख गरी २ करोड २२ लाख खर्च भएको थियो ।
प्रसाशनिक भवन, कम्पाउण्ड वाल तथा ड्रेन बनेर उद्घाटनको तयारीमा रहेको रोशी गाउँपालिकाका इन्जिनियर भूपेन्द्र अधिकारीले जानकारी दिए । ग्रामको उद्घाटन अगावै रोशी खोलामा आएको बाढीले जगैसमेत बगाएर लगेको उनको भनाइ छ ।
त्यस्तै रोशी गाउँपालिकाले २४ लाख रुपैयाँ खर्चेर औद्योगिक ग्रामभित्रै बनाएको शीतभण्डार समेत बाढीले बगाइदिएको छ । कृषि उपजका सामग्री राख्न बनाइएको शितभण्डार सञ्चालनको तयारी गरेर प्रयोगमा ल्याउने बेलामा बाढीले बगाएको रोशी गाउँपालिकाका इन्जिनियर अधिकारीले जानकारी दिए ।
औद्योगिक ग्रामसँगै स्थानीयलाई प्रयोग गर्न बनाइएको खानेपानी आयोजना समेत बाढीले बगाएको छ । ३० लाख लागतमा बनाइएको खानेपानी आयोजनाबाट ३५ घरधुरी लाभान्वित थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।