एनपीएलमा ८ फ्रेन्चाइज टिम, एलिट कप कात्तिकमा गर्ने निर्णय

१३ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ वटा फ्रेन्चाइज टिम रहने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको कार्यसमिति बैठकले फ्रेन्चाइज टिमको संख्या टुंगो लगाएको हो । क्यानले पहिलो पटक गर्न लागेको एनपीएल १५ मंसिरदेखि ६ पुसम्म हुनेछ ।
फ्रेन्चाइज टिमका लागि १६ वटा आवेदन गरेको छ । टिमको संख्या टुंगो लगाएसँगै छनोट प्रक्रिया सुरु हुनेछ ।
साथै लेखबहादुर (एलबी) क्षेत्रीको नेतृत्वमा राष्ट्रिय टिम छनोट समिति बनेको छ । युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य छन् ।
बैठकले एलिट कप क्रिकेट प्रतियोगिता आगामी कात्तिक (अक्टोबर अन्तिम सातादेखि) मधेश प्रदेशको जनकपुर र वीरञ्जमा गर्ने निर्णय गरेको छ ।
हालै भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको शीर्ष चार टिमले एलिट कप खेल्ने छन् । लिगको शीर्ष चारमा क्रमशः नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश थिए ।
एलिट कपको अवधारणा अगाडि सार्दा दुई दिवसीय भनिएको थियो । तर यसबारे अहिलेसम्म केही निर्णय भइसकेको छैन ।
यस्तै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर–अक्टोबरमा कोशी प्रदेशमा गर्ने निर्णय भएको छ । साथै आईसीसी यू–१९ महिला विश्वकप एसिया क्वालिफायरको तयारीका लागि ३० असोजदेखि दाङको लमहीमा पहिलो चरणको प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ । साथै असोज ११ र १२ गते पोखरामा बार्षिक साधारणसभा बोलाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।