दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : आर्मी र जावलाखेललाई उपाधि

२८ चैत, काठमाडौं। दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्टस् क्लब (जेडब्ल्यूएससी)ले जितेका छन् ।
नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार सम्पन्न फाइनलमा पुरुषतर्फ विभागीय डर्बीमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफलाई र महिलातर्फ जेडब्ल्यूएससीले इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससीआईएनएन)लाई पराजित गर्दै उपाधि जितेका हुन् ।
पुरुषतर्फ आर्मीले एपीएफलाई २१–१७ ले पराजित गर्यो । आर्मी र एपीएफ पुल ‘ए’ मा सँगै थिए। पुल ‘ए’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
पुलको खेलमा पनि आर्मीले एपीएफलाई २६–२१ स्कोरले पराजित गरेको थियो । आर्मीले सेमिफाइनलमा बीआईएमाथि ३६–१७ स्कोरको फराकिलो जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
एपीएफ भने प्रतिस्पर्धात्मक खेलमा एससीआईएनएनलाई २०–१९ स्कोरले पराजित गर्दै फाइनलमा पुगेको थियो । प्रतियोगितामा एससीआईएनएन तेस्रो भयो । एससीआईएनएनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बीआईएलाई १७–१६ स्कोरले पराजित गर्यो ।
महिलातर्फको सेमिफाइनलमा बीआईएलाई १४–० स्कोरले पराजित गर्दै जेडब्यूएससी फाइनल पुगेको थियो । फाइनलमा जेडब्यूएससीले एससीआईएनएनमाथि १८–७ स्कोरको सहज जित दर्ता गर्यो । एससीआईएनएनले सेमिफाइनलमा विइनमाथि १४–४ स्कोरको सहज जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो। बीआईए भने तेस्रो बन्यो।
तेस्रो स्थानका लागि भएको भिडन्तमा विइनलाई बीआईएले ६–० स्कोरमा सहजै पराजित गर्यो । प्रतियोगिताको विजेता टोली आर्मी र जेडब्यूएससीले ५०/५० हजार रुपैयाँ प्राप्त गरे । उपविजेता टोली एपीएफ र एससीआईएनएनले ४०/४० हजार रुपैयाँ प्राप्त गरे ।
तेस्रो हुने एससीआईएनएन र बीआईले ३०/३० हजार रुपैयाँ प्राप्त गरे । ‘मस्ट भ्यालुयबल प्लेअर’ पुरुषतर्फ आर्मीका रामबहादुर तामाङ र महिलातर्फ जेडब्यूएससीका राजनी राई घोषित भए । यस्तै पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जेडब्यूएससीकी तुलसा मगर ‘हाई’ स्कोरर रहे । खत्रीले फाइनलमा ८ र मगरले ६ स्कोर गरेका थिए । चारै जनाले २५/२५ सय रुपैयाँ प्राप्त गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।