एभरट्रस्ट सहकारी ठगी प्रकरण : २ जना पुर्पक्षका लागि जेल चलान

११ असोज, काठमाडौं । एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपी मध्ये दुई जना जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । तीन जनासँग धरौटी माग भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको शुक्रबारको इजलासले सहकारीका सचिव कान्छाभाइ डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाँललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचनाका अधिकारी मेलिस बाँस्कोटाका अनुसार उपाध्यक्ष बबिता डंगोल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाइ बज्राचार्यलाई भने धरौटी छाड्न आदेश भएको छ । उनका अनुसार बबितासँग ३० लाख र महर्जन र बज्राचार्यसँग जनही २०÷२० लाख रुपैयाँ धरौटी माग भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदन आधारमा ६ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको थियो । जसमध्ये सहारीका अध्यक्ष दीपक थापा मगर भने फरार छन् । ६ जनाविरुद्ध १६ करोड ५६ लाख ८७ हजार २ सय ४५ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।
उनीहरू विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) र (२) को ठगी कसुर गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।
काठमाडौं चुच्चेपाटीमा रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै झुटो प्रलोभनमा पारेर रकम बचत गर्न लगाइ फिर्ता नगरेको आरोप छ ।
अनुसन्धान क्रममा यो सहकारीका नाममा कुनै पनि जग्गाजमिन तथा घरघडेरी समेत रहेको खुलेको छैन भने हाल पक्राउ परेका पदाधिकारीका नाममा रहेका बैंक खातामा पनि कुनै ठूलो रकम नभेटिएको सीआईबीले अनुसन्धान प्रतिवेदनमा उललेख गरेको छ ।
प्रतिवादी कान्छाभाइ २०६६ देखि २०७८ सम्म तीन कार्यकाल सहकारी अध्यक्ष भएका थिए । २०७८ पछि अहिलेसम्म उनी सचिव छन् ।
हालका अध्यक्ष दीपक थापा मगर कान्छाभाइका साढुभाइ नाता पर्ने व्यक्ति हुन् । उनीहरूको मिलेमतोमा सहकारीको रकम अपचलन भएको सीआईबीको अनुसन्धानले देखाएको छ ।
कान्छाभाइ अध्यापन पेसामा रहेका बेला दीपकले नै २०६६ सालतिर उनलाई सहकारीमा जोडेका थिए । २०६६ फागुनमा सहकारी विभागमा यो सहकारी दर्ता गरी उनीहरूले काम सुरु गरेका थिए । यो सहकारीमा अहिले १ सय १६ सदस्य छन् ।
अहिलेका अध्यक्ष दीपक थापा मगर भने २०७९ फागुनदेखि नै फरार छन् । उनी सम्पर्कविहीन भएको भन्दै त्यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी समेत परेको थियो ।
अर्का प्रतिवादी बबिता डंगोल कान्छाभाइ डंगोलकी भतिजी नाता पर्ने व्यक्ति हुन् । नातेदार समेत रहेका सहकारी पदाधिकारीहरू मिलेर विनाधितो स्वेच्छाचारी रूपमा कर्जा प्रवाह गरेर बचतकर्ताको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।