Main

प्रबल गुरुङले हाले कमला ह्यारिसको पक्षमा ‘अर्ली भोट’

काठमाडौं । नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले मंगलबार हुने अमेरिकी राष्ट्रपति चुनावमा ‘अर्ली मतदान’ गरेका छन् । इन्स्टाग्राममार्फत यसबारे जानकारी दिँदै उनले आफूले डेमोक्रेट उम्मेदवार कमला ह्यारिसको पक्षमा मतदान गरेको उल्लेख गरेका छन् ।

‘भोट’ लेखिएको आकर्षक टिसर्ट पहिरिएको फोटोको क्याप्सनमा उनी लेख्छन्, ‘मैले चाँडै मतदान गरेँ । मैले कमला ह्यारिस र टीम वाल्जलाई भोट हालेँ । कृपया उनको लागि भोट हाल्नूस ।’

भोट हालेको भोलिपल्ट उनी पश्चिमी राज्य नेभादामा आयोजित ह्यारिसको चुनावी सभामा सहभागि भए । त्यहाँबाट ह्यारिसको भाषणका भिडियो पोस्ट गर्दै उनले कमला अमेरिकाको नेता मात्र नभएर परिवर्तन र राम्रो भविष्यको लागि आशाको किरण रहेको उल्लेख गरेका छन् ।

अमेरिकी आप्रवासीको रुपमा आफूहरु एकजुट हुनुपर्ने उनले उल्लेख गरेका छन् । नोभेम्बर ५ मा हुने राष्ट्रपतिय चुनावमा ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

अमेरिकामा ‘अर्ली मतदान’को व्यवस्था हुने भएकाले केही साताअघि देखि नै नागरिकले मतदान गरिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button