मैयाँदेवी यू–१९ कप : गण्डकी र सुदूरपश्चिम विजयी
१३ माघ, चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा जारी मैयाँदेवी यू–१९ टि-२० क्रिकेट प्रतियोगितामा दोस्रो दिन गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले जित हात पारेका छन् ।
पहिलो खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले हरायो । जितको लागि ५९ रनको सामान्य लक्ष्य गण्डकीले ११ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा सीमाना केसी २३ र ज्योत्स्निका मरासिनीले २१ रनको योगदान बनाइन् । कोशीकी भवानी कमातीले २ र रिया शर्माले १ विकेट लिइन् ।
त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको कोशी १२ ओभरमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कोशीकी पुर्णिमा राजवंशीले सर्वाधिक १५ रन बनाइन् । गण्डकीकी कुसुम गोदार, निरुता जेटी र आकृति तिवारीले १–१ विकेट लिइन् ।
अर्को खेलमा सुदूरपश्चिमले मधेशलाई ६ विकेटले हरायो । जितको लागि १०३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । सुदूरको जितमा सावित्री धामीले ४४ बलमा ६ चौकासहित सर्वाधिक ४३ रन बनाइन् । निलम पाण्डेले ४० बलमा २२ रन बनाइन् । मधेशकी स्पिनर मिना महतोले २ प्रतिमा शाहले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रन बनायो । मधेशकी साना प्रविनले ४९ बलमा ४ चौकासहित ३४, सीमा कुँवर १२ र एलिसा यादव २३ रनमा आउट भइन् ।
सुदूरकी अनु कडायतले २, करिष्मा थापा र स्नेहा महराले १–१ विकेट लिइन् ।
प्रतियोगितामा ७ प्रदेशको सहभागीता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा गण्डकी, सुदूर, मधेश र कोशी छन् । समूह बी मा बागमती, कर्णाली र लुम्बिनी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।