राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
`काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। साथै, उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल र ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताउँदै भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गरेका थिए।
सोमबार काठमाडौँ आएका विदेशमन्त्री अल्बुसैदीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग दुई पक्षीय भेटवार्ता गरेका थिए।
उनी आजै भ्रमण सम्पन्न गरेर स्वदेश फर्किदै छन्।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।