Main

एमाले नेता भट्टराई भन्छन्- जनता उठेर संघीयता मिल्काइदिनसक्छन्

२३ साउन, बुटवल । नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले दलहरुलाई भाग पुर्‍याउन जम्बो मन्त्रिमण्डल बनाउनु गलत भएको बताएका छन् ।

भट्टराईले मधेश प्रदेशमा २० सदस्यीय मन्त्रिमण्डल बनाइएकोप्रति इंकित गर्दै गरिब देशमा मन्त्रीहरुको भीड लगाउनु राम्रो नहुने बताए ।

उनले ‘देशको, प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो, भाग पुर्‍याउन होइन’ भन्दै सानो मन्त्रिमण्डल बनाउनुपर्ने सुझाए । अन्यथा जनताले संघीयतालाई मिल्काइदिने चेतावनी समेत उनले दिए ।

‘साथीहरु, प्रदेशहरुमा मन्त्रीहरुको लावालस्कर किन चाहियो ? मन्त्री हुनेलाई पनि गौरव हुन्छ र ? मलाई त होला जस्तो लाग्दैन, देशको, प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो,भाग पुर्‍याउन होइन,जनतातिर फर्कौं, सानो मन्त्रिपरिषद् बनाऔं,जनताको काम गरौं, संघीयता टिक्छ नभए जनता आफैं उठेर मिल्काइदिन्छन्,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

भट्टराई एमाले विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३, रुपन्देहीका इञ्चार्ज समेत हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आज ५ जना राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि १५ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो ।

मुख्यमन्त्रीको कार्यालयबाहेक ११ मन्त्रालय रहेको मधेशमा ५ जना थपिंदा मधेश सरकारको मन्त्रिपरिषद् अहिलेसम्मकै ठुलो आकार २० सदस्यीय बनेको छ । यो अहिलेसम्मकै जम्बो हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button